बीरगन्ज,१४ जेठ । सरकारले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इद र राष्ट्रिय पर्व गणतन्त्र दिवस को अवसर पारेर देशभर लगातार चार दिन सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयको निर्णय तथा पूर्वनिर्धारित वार्षिक बिदा तालिका अनुसार आज बिहीबारदेखि आइतबारसम्म सबै सरकारी कार्यालय, सार्वजनिक निकाय र सेवाहरू बन्द रहनेछन्।
आज जेठ १४ गते बकर इदको अवसरमा सार्वजनिक बिदा दिइएको हो। यसअघि मन्त्रालयले सूचना जारी गर्दै उक्त दिन बिदा दिने निर्णय सार्वजनिक गरिसकेको थियो।
त्यसैगरी, जेठ १५ गते शुक्रबार देशभर गणतन्त्र दिवस मनाइने भएकाले सो दिन पनि सार्वजनिक बिदा रहनेछ। सरकारद्वारा नेपाल राजपत्रमार्फत प्रकाशित सूचनाअनुसार गणतन्त्र दिवसको बिदा समेत कायम गरिएको हो।
यसपछि जेठ १६ गते शनिबार र १७ गते आइतबार नियमित साप्ताहिक बिदा परेकाले चार दिनसम्म लगातार बिदा परेको हो। लगातारको बिदाका कारण सरकारी सेवा प्रवाह केही दिन प्रभावित हुने भए पनि सोमबारदेखि सबै कार्यालयहरू नियमित रूपमा सञ्चालनमा आउनेछन्।




