सप्तरी – जिल्लाको छिन्नस्ता गाउँपालिका क्षेत्रबाट प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। सीमावर्ती भारतीय बजारबाट अनटेस्ट मोटरसाइकलमा लुकाएर ल्याएको प्रतिबन्धित लागुऔषध डाइलेक्स डिसिसहित आइतबार छिन्नमस्ता गाउँपालिका-२ मोहनपुरबाट सप्तरीको राजगढ गाउँपालिका ६ कुडनवा घर भएका २५ वर्षीय श्रवण यादवलाई पक्राउ गरिएको हो।
इलाका प्रहरी कार्यालय छिन्नमस्ताबाट खटिएको गस्ती प्रहरीले यादवलाई अनटेस्ट मोटरसाइकलमा लुकाएर ल्याएको एक सय एमएलको एक सय एक बोतल डाइलेक्स डिसीसहित पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पक्राउ गरिएका यादवलाई आइतबारै लागुऔषध ओसारपोसार अन्तर्गतको मुद्दामा अनुसन्धानका लागि म्याद थप गरिएको छ।
१६ कार्टुन मदिरा बरामद
प्रहरीले आइतबार सप्तरीको दक्षिणी सीमावर्ती राजगढ गाउँपालिका २ कमलपुर गाउँबाट भारतीय सीमावर्ती बजारमा अवैध ढंगले चोरी निकासी गर्न लागिएको १६ कार्टुन मदिरा समेत बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको अनुगमन टोलीले नेपालबाट भारततर्फ चोरी निकासी गर्न बोरामा प्याक गरी पिठ्युँमा बोकेर सीमा कटाउन लागिएको अवस्थामा दिलवाले, कस्तुरी र मामश्री नामको मदिरा बरामद गरेको हो। करिब १५ हजार रुपैयाँ मूल्यको १६ कार्टुन मदिरा र ६ जना नियन्त्रणमा लिई कारबाहीका लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ। मदिरासहित पक्राउ गरिएका व्यक्तिहरूको नाम भने खुलाइएको छैन।




