काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको असार १० देखि जारी स्थायी कमिटि बैठक मंगलबार पछि अनिश्चित बनेको छ । मंगलबार तय भएको बैठक प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकपक्षिय रुपमा स्थगित गरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसियो । तर त्यो बैठकमा ओली समुहका स्थायी कमिटि सदस्यहरु सहभागी भएनन् भने दाहाल पक्ष मानिने कतिपय नेताहरुनै सहभागी भएनन् ।
बैठकमा पार्टी उपाध्यक्ष समेत रहेका बामदेव गौतमले ६ बुँदे फरक धारणा समेत प्रस्तुत गरे । जुन अध्यक्षद्धय दाहाल र ओलीबीच गएको मंसिरमा भएको सहमतिको आधारमा छ । बामदेवको ६ बुँदे प्रस्ताव आउनु र दाहाल निकट केही स्थायी कमिटि सदस्य समेत बैठकमा सहभागी नभएपछि नेकपा भित्रको समिकरण र चुलिदो एकतर्फी ओलीमा परेको दवाबको रुप परिवर्तन भएको छ । मंगलबारको बैठक पछि नेकपा भित्रको परिदृष्य फेरिएको छ भने आन्तरिक फेरबदलका कारण सकस भने चुलिएको छ ।
साउन १३ गते मंगलबार तय भएको बैठकमा अध्यक्ष दाहाल निकट मानिने स्थायी कमिटि सदस्य मणि थापा समेत सहभागी भएनन् । पार्टी भित्रको आन्तरिक समिकरण र बैठकमा सहभागी नहुनको कारणबारे हामीले स्थायी कमिटि सदस्य मणि थापासँग कुराकानी गरेका छौं :
नेकपा स्थायी कमिटि बैठकनै पटक पटक स्थगित हुने, बहुमत सदस्यहरुको विचार भावनामा नेतृत्व उदाशिन देखिने, के नेकपाको स्थायी कमिटिको औचित्य माथी अव प्रश्न गर्ने बेला भएन र ?
स्थायी कमिटिको औचित्य माथी प्रश्न उठेको छैन । स्थायी कमिटिले जे निर्णय गर्नुपर्ने हो, त्यो समय सिमा अझै बाँकीनै छ । पछिल्लो समय जे जस्तो बैठक भएपनि बैठकले नेकपा भित्रको कोर्समा चाही अलिकती चेन्ज आयो शक्ति सन्तुलनमा चेन्ज आयो । यसले अव सहि दिशा निर्धारण गर्छ ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकपक्षिय रुपमा मंगलवारको बैठक स्थगित गरियो भनियो । पछि अर्का अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा पुन बैठक त बसियो तर सो बैठकलाई गुटको भेला मान्ने कि पार्टीको बैठक मान्ने भन्नेमा पार्टी भित्रनै विवाद भयो नि ?
साथीहरु सवैले त्यसलाई बैठकको रुपमा मानिसकेपछि त्यसलाई बैठकको रुपमानै मानौ । मुख्य कुरा त्यसले गर्ने निर्णयमा भर गर्छ । त्यसले के निर्णय ग¥र्याे भने प्रधानमन्त्री कमरेड केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बिचनै सहकार्य सहमति गरेर पार्टीको निकास निष्कनु पर्छ र अवको बैठकहरु पनि अध्यक्षद्धयको सल्लाह सुझाव अनुसार राखिनुपर्छ भनिसकेपछि मंगलबारको बैठकले सहकार्य र सहमतिलाई प्रधान पक्ष बनायो । त्यसकारण हामीले पनि लामो समयसम्म भनिरहेको विषय के हो भने नेकपा भित्रको समस्याको हल कमरेड ओली र प्रचण्ड बीचको सहमतिले मात्र समाधान हुन सक्छ ।
अर्काे महाधिवेशन पनि सहमतिको महाधिवेशन गरिने हुनाले बहुमतिय मान्यताबाट हुन सक्दैन भनेर हामीले जे भनेका थियौ त्यो आधारमा पनि त्यहि कुरा स्थापित भयो । पछिल्लो बैठकबाट कमरेड केपी शर्मा ओलीलाई दुई पद मध्ये एउटा पद छोड्ने भनि अनुरोध गर्ने भनिएको थियो तर त्यहा त्यो बैठक पुग्न सकेन । किन पुग्न सकेन त भन्दा त्यहा उपस्थित धेरै साथीहरु र विशेष गरेर सचिवालयका जिम्मेवार साथीहरुले फेरि एकताको प्रश्ताव प्रस्तुत गर्नुभयो । बामदेव कमरेडले नि एकताकै कुरा प्रस्तुत गर्नुभयो ।
रु नेताले पनि एकताकै प्रस्ताव प्रस्तुत गरिसकेपछि मुल रुपले नेकपा फेरि सहमतिय सिद्धान्तमा आएर अडियो र बहुमतको आधारमा हामीले निर्णय पनि गर्न सक्छौ भन्ने मान्यता जो साथीहरुले राख्नुभएको थियो त्यो चाही अवैज्ञानिक थियो । त्यो कुरा मंगलबारको बैठकले पनि सावित गरिदियो ।
अध्यक्षद्धयमा सवै कुरा केन्द्रीत हुदा नेकपा यो समस्यामा फसेको हो या दोश्रो तेस्रो तहका नेताहरुमा नै निरिहता देखिएको हो ?
पार्टी यसरी अघि बढाउनु हुदैन । आजसम्म हामीले सचिवालयका साथीहरुलाई निर्णय गर्नुस भनेर दियौ र स्थायी कमिटि पनि एकहिसावले अवरुद्ध सिर्जना भयो । अव हामीले स्थायी कमिटि, केन्द्रीय कमिटि बैठक मार्फत यस्ता लम्बेताम प्रवृत्तिको अन्त्य गरेर जान्छौ । हामीले दोश्रो जेनेरेशन जो भनिराखेका छौ नेकपा भित्रको त्यो जेनेरेशनले नेकपाको महाधिवेशनसम्म लगेर नयाँ नेतृत्व, सिप, नयाँ विचार र नयाँ पार्टी बनाउन हामी प्रयत्न गर्छाै ।
त्यसकारण यस्तै अवरुद्धता त राख्न हुदैन अहिलेसम्म त हामीले सचिवालयका साथीहरुलाई नै हामीले एउटा जिम्मेवारी दिएका थियौ । हामीले उहाँहरुलाई विश्वास पनि ग¥र्याै । मंगलबारको बैठकबाट सचिवालयमा पनि शत्ति सन्तुलनमा पनि चेन्ज आयो र सचिवालयमा आएको शत्ति सन्तुलनको चेन्जले पुरै नेकपा भित्रको शत्ति सन्तुलनमा चेन्ज आएको छ । अव नेकपा सहमति सहकार्य र एकता तर्फ अगाडी बढ्छ भन्ने हाम्रो विश्वास हो ।
पार्टीका उपाध्यक्ष बामदेव गौतमले ल्याउनुभएको ६ बुँदे प्रस्ताव पछि नेकपाको कोर्स फेरिएको छ समिकरणमानै असर गरेको छ । के अव नेकपा बामदेवको प्रस्ताव अनुसारनै अगाडी बढ्ने हो ?
बामदेव कमरेडले लामो समयपछि त्यो विचार ल्याउनुभयो । त्यो विचार हामीले पार्टी बैठकमा राखिनै रहेका थियौ । त्यो विचार बामदेव कमरेडले राखिसकेपछि त्यो विचार बलियो भयो भन्ने चाही मलाई लाग्छ । लगभग अवको एकताको महाधिवेशनसम्म त्यो प्रस्तावमानै अघि बढ्छ र बढ्नुपर्छ भन्ने मान्यता पनि हो ।
मंगलबारको बैठकमा तपाई सहभागी हुनु भएन । अनुपस्थितिको अन्य कारणनै छन् कि गुट वा समिकरण वा नेतृत्व वा अडान परिवर्तन गर्नुभयो ?
सहमतिले बैठक गर्ने भन्ने हाम्रो मान्यता हो अव एकपक्षले बैठक स्थगित र एकपक्षले फेरि आह्वान गरिसकेपछि अलमल भयो । खास अलमलको कारण मात्र बैठकमा म सहभागी हुन सकिन । अन्य विषय केही पनि हैन । हिजो देखि मेरो व्यत्तिगत र हामी सवैको सामुहिक मान्यता पार्टी एकतालाई जोगाउनपर्छ भन्ने नै हो । तर जुन मंगलबार बैठक बस्यो । बैठकले जुन निर्णाय गर्ने कोशिस गरेको छ त्यो सकारात्मक छ ।
नेकपा भित्रको समिकरणको जुन कुरा आइराखेको छ । के समिकरणले भर गर्छ या दुई अध्यक्षको सहमति सहकार्यले नेकपा अगाडी बढ्छ ?
समिकरणमा जानु गल्ती थियो । समिकरण गर्नुहुदैन भन्ने हाम्रो मान्यता हो । दुई अध्यक्षबीचको सहकार्य सहमतिको आधारमा पार्टी चल्नुपर्छ तर विडम्बना पछिल्लो चरण चाही प्रचण्ड र माधव नेपाल गुट भनेर जो आयो र त्यसलाई संस्थागत रुपमा अगाडी बढाउने कोशिस पनि गरियो । त्यसपछि पार्टीमा संकट सिर्जना भएको देखिन्छ । त्यो संकट व्यवस्थापन चाँही मंगलबारको बैठक भेला जे भनौ त्यसले चाँही नयाँ आयाम मा फड्को मारेको छ भन्नुपर्छ । त्यसले सकारात्मक दिशा तय गरेको छ ।
खास नेकपा भित्र यति सतहमानै आउनुपर्ने गरि उछालिएको बिग्रहको कारण के हो ? के मा समस्या भइरहेको छ ?
मुख्य चाही सचिवालयको समस्या थियो । सचिवालयले निर्णय गर्न नसक्ने सचिवालयमा एउटा बहुमत जस्तो अर्काे अल्पमत जस्तो जे हुनेक्रम देखिएको थियो । अहिले सचिवालयले अव निर्णय गर्ने ल्याकतमा आएको छ । पार्टी एकताको पक्षमा दुइटा नेतालाई मिलाउने र उनिहरुको कार्यविभाजन गर्नेमा सचिवालय अव सफल हुन्छ भन्ने मलाई लागेको छ । त्यसले स्थायी र केन्द्रीय समितिमा समेत प्रभाव पार्छ ।

