बीरगन्ज,०३ असार । ललितपुरस्थित जावलाखेलमा रहेको डीएभी कलेजका कक्षा १२ का विद्यार्थी आर्यन सिंहको मृत्यु प्रकरणमा कलेजको वातावरण र साथीहरूप्रति उनले असन्तुष्टि व्यक्त गरेको खुलेको छ।
गत सोमबार भएको घटनापछि गम्भीर घाइते भएका सिंहको उपचारका क्रममा सोही दिन साँझ सुमेरू सिटी अस्पतालमा मृत्यु भएको थियो। उनी काठमाडौं महानगरपालिका–७, चाबहिलमा परिवारसहित बस्दै आएका थिए भने स्थायी घर वीरगञ्ज महानगरपालिका–२२ रहेको जनाइएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा प्रहरी उपरीक्षक गौतम मिश्र का अनुसार घटनास्थलबाट फेला परेको हिन्दी रोमन अक्षरमा लेखिएको सुसाइड नोटमा कलेजको वातावरण र साथीहरूसँग सम्बन्धित गुनासो उल्लेख गरिएको छ।
प्रहरीका अनुसार उक्त नोटमा कुनै व्यक्तिलाई स्पष्ट रूपमा आरोप लगाइएको छैन। घर–परिवारप्रति पनि कुनै असन्तुष्टि उल्लेख नभएको प्रहरीको भनाइ छ।
“नोटको प्रारम्भिक अध्ययनमा उनी साथीहरू र कलेजको वातावरणका कारण मानसिक रूपमा तनावमा रहेको देखिन्छ,” प्रवक्ता मिश्रले बताए। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।




