नेपालगञ्ज, बाँके। बाहिरबाट हेर्दा भेरी अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हजारौं गरिब बिरामीहरूको ‘जीवनदायिनी’ संस्था हो। तर, यसका बन्द कोठाहरूभित्र पसेर हेर्दा यो अस्पताल बिचौलिया, भ्रष्ट कर्मचारी र माफियाहरूको ‘लुटको स्वर्ग’ बनिसकेको छ।
हाम्रो खोजमूलक डेस्कले महिनौं लगाएर संकलन गरेका गोप्य सरकारी कागजात, स्वास्थ्य मन्त्रालयका पत्र, अख्तियारको अनुसन्धान विवरण, चुहावट भएका ह्वाट्सएप संवाद र गोदामभित्रका तस्बिरहरूले भेरी अस्पतालभित्रको डरलाग्दो ‘मेडिकल क्राइम’को पर्दाफास गरेका छन्। यस महाघोटालाका मुख्य योजनाकार हुन्— अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) र उनका विश्वासपात्र तत्कालीन फार्मेसी/स्टोर इन्चार्ज उदय वीर शाही।
एक सामान्य कर्मचारीदेखि ‘BYD’ गाडी चढ्ने करोडपतिसम्मको उदय वीर शाहीको यात्रा र भेरी अस्पतालको बर्बादीको पूर्ण फेहरिस्त यस प्रकार छ:
१. मेहलकुनादेखिको ठगी र भेरीमा ‘आगलागी’को नाटक
उदय वीर शाहीको भ्रष्ट इतिहास भेरीबाट सुरु भएको होइन। स्रोतका अनुसार, २०७६ सालतिर सुर्खेतको मेहलकुना अस्पतालमा एक वर्षे परीक्षण कालमै हुँदा उनले स्वास्थ्य बिमाको कागजमा किर्ते गरेर पैसा खाएका थिए। उक्त ठगीमा उनी कारबाहीमा परे र एक महिनासम्म हाजिर गर्न दिइएको थिएन। तर, कारबाही भोगेका तिनै ‘दागी’ कर्मचारीलाई भेरी अस्पतालमा भने मेसुले रातो कार्पेट बिछ्याएर ल्याए।
सुरुमा स्टोर इन्चार्ज बनेका उदयले मेसुसँगको सेटिङमा तत्कालीन फार्मेसी इन्चार्ज पदम अर्याललाई हटाए। पदमले उनीहरूको ठगी धन्दामा साथ नदिएपछि उनलाई आउट गरियो र उदय आफैंले दुवै ठाउँ (स्टोर र फार्मेसी) को चाबी हातमा लिए।
त्यसलगत्तै प्रमाण मेटाउन औषधि राख्ने स्टोरमा रहस्यमय आगलागी गराइयो र लाखौंको क्षति देखाइयो। आगोलागीपछि स्टक मिलाउने किर्ते काममा एकैपटक ८४ लाख रुपैयाँ बराबरको औषधि अवैध रूपमा ‘फिर्ता’ (Return) गरियो। यो भयानक अपराधमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यतिबेलै पहिलो ‘कारण देखाऊ’ चिठ्ठी काटेको थियो।
२. मृत्युको व्यापार: विषको दबाइ छैन, कमिसनका दबाइको डंगुर
भेरी अस्पतालमा उपचार गर्न आउने बिरामीमाथिको सबैभन्दा क्रूर खेल फार्मेसीमा भइरहेको छ।
विष खाएर सिकिस्त भई इमर्जेन्सीमा आउने बिरामीलाई तत्कालै चाहिने ‘प्रलिडोक्जिम’ (Pralidoxime) जस्ता अति आवश्यक एन्टिडोट (विषनाशक) औषधि विगत एक वर्षदेखि अस्पतालमा छैन। बिरामीले डाक्टरको पुर्जी बोकेर जाँदा १० मध्ये ६ वटा औषधि फार्मेसीमा भेटिँदैनन्।
तर, गोदामभित्रको यथार्थ अर्कै छ। कमिसनका लागि एउटै कम्पोजिसनका १०-१० वटा ब्रान्डका औषधिहरू थुपारिएका छन्। बिक्री नभएपछि हालसम्म करिब १ करोड रुपैयाँ बराबरका औषधिहरू म्याद नाघेर (Expire) फालिएका छन्। हाम्रा प्राप्त तस्बिर प्रमाण अनुसार:
- १५६२ रुपैयाँ पर्ने Veltico Injection, ७०० रुपैयाँ पर्ने Dabirom 110 (जसमा “For Institution Supply Only” छापिएको छ), र Atenol 25, Bactolac जस्ता महंगा औषधिहरू कार्टुनका कार्टुन अप्रिल र मे २०२६ मै म्याद सकिने अवस्थामा पुगेका छन्। आउँदो जुन-जुलाईसम्म थप ५० देखि ६० लाखका औषधि कुहिँदैछन्।
३. ह्वाट्सएप प्रमाण: १५ लाखको सामानलाई ५० लाखको बिल !
खरिद ऐनलाई कसरी लत्याइन्छ भन्ने कुरा उदय वीर शाहीको ह्वाट्सएप च्याटले छर्लङ्ग पार्छ। च्याटमा स्पष्ट लेखिएको छ:
- “पदमलाई ५० लाखको हाल्न भनिस्यो। २ वटा फर्मबाट २५/२५।”
- “१५ लाखमा पर्चेज गर्ने ठाउँ नि देखाइदिन्छु म। ३५ लाख प्रोफिट हुन्छ।” सार्वजनिक खरिद ऐन छल्न ६० लाखको खरिदलाई “मिल्दैन नियममा… २०/२० को ३ वटा गर्छु” भन्दै टुक्र्याएर ‘कोटेशन’मार्फत आफ्नै आसेपासेलाई ठेक्का दिइएको छ।
यति मात्र होइन, अख्तियारको २०८२/०१/०८ को पत्र अनुसार— ४० लाख पर्ने ‘Full Automated Biochemistry Analyzer’ ल्याब मेसिनलाई १० लाखमा किनेर त्यसमा लाग्ने रिएजेन्ट (Reagent) बिचौलियामार्फत ५ देखि ७ गुणा महँगोमा खरिद गरिएको छ। त्यस्तै, मेडिकल ग्रेड लिक्विड अक्सिजन अस्पतालको ट्यांकमा खसाउनु अघि नै बाटोमै चोरी गरी पूरा भुक्तानी लिएको जघन्य अपराधको अनुसन्धान भइरहेको छ।
४. नातावादको पराकाष्ठा
अस्पताललाई शाही परिवारको ‘बिर्ता’ बनाइएको छ। हाम्रो डेस्कलाई प्राप्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०८१/१०/१४ को पत्रले नातावादको डरलाग्दो रूप देखाउँछ।
कर्णाली प्रदेश मातहतको मेहलकुना अस्पतालमा ‘अस्पताल नर्सिङ निरीक्षक’ (छैटौं तह) मा कार्यरत उदय वीर शाहीकी श्रीमती विद्या कुमारी शाहीलाई नियमविपरीत संघीय अस्पताल भेरीमा कामकाज गर्ने गरी ल्याइएको छ। यस्तै, उदयले आफ्नै साख्खै भाउजू इन्दु सिंह ठकुरीलाई मेसुसँगको सेटिङमा बिमा काउन्टरमा राखेर बिमाको रकममा पनि तर मारेका छन्।
अर्कोतर्फ, अख्तियारको छानबिन सुरु भएपछि आफू बच्न उदय र मेसुले भवानी प्रसाद यादव नामका कर्मचारीलाई फार्मेसी इन्चार्ज बनाए। तर, उनलाई भौतिक स्टक (Physical Stock) चेकजाँच नै नगरी जिम्मा भिराइयो। करोडौंको औषधि गायब पारिएको र कुहाइएको अवस्थामा अब सम्पूर्ण दोष भवानी प्रसादको थाप्लोमा हालेर उनलाई फसाउने प्रपञ्च रचिएको छ।
५. प्रमाण नष्ट र भाग्ने अन्तिम तयारी
छोटो समयमै बिरामीको रगत चुसेर कमाएको कालो धनले उदय वीर शाहीले करोडौंको घरजग्गा र महँगो विद्युतीय ‘BYD’ गाडी जोडेका छन्।
अहिले अख्तियार र मिडियामा कुरा चुहिएपछि यो गिरोह हतास छ। स्रोतका अनुसार, विगत १५ दिनयता मात्रै अवैध तरिकाले स्टक एडजस्टमेन्ट (Stock Adjustment) को बहानामा ८० लाख रुपैयाँ बराबरको फर्जी औषधि फिर्ता र किर्ते बिल काटेर हिसाब मिलाउने काम भइरहेको छ।
अस्पताललाई कंकाल बनाएपछि अहिले मेसु आफ्नो सरुवा मिलाएर काठमाडौंको वीर अस्पताल फर्किएको हल्ला छ भने, उदय वीर शाही रातदिन एक गरेर नजिकैको खजुरा क्यान्सर अस्पतालमा आफ्नो सरुवा गराउने सेटिङमा दौडधुप गरिरहेका छन्।
निष्कर्ष: राज्य र कानुनको मौनता कहिलेसम्म?
गरिब बिरामी विष खाएर छटपटाउँदा एन्टिडोट नकिन्ने, तर कमिसनका लागि १ करोडको औषधि कुहाउने; प्रमाण मेटाउन आगो लगाउने; १५ लाखको सामानलाई ५० लाखको बिल बनाएर ३५ लाख गोजीमा हाल्ने र भ्रष्ट पैसाले BYD गाडी चढ्ने— भेरी अस्पतालको यो काण्ड सामान्य प्रशासनिक त्रुटी होइन, यो ‘संगठित अपराध’ हो।
के स्वास्थ्य मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागले भाग्ने तयारीमा रहेका मेसु र उदय वीर शाहीलाई विमानस्थल वा बाटोमै पक्राउ गरेर हिरासतमा लिने हिम्मत राख्छन्? कि यी प्रमाणहरूलाई बेवास्ता गर्दै उनीहरूलाई नयाँ अस्पताल लुट्न पठाउँछन्? अबको जवाफ राज्यले दिनुपर्छ।
(यो एक निरन्तर अनुसन्धानमूलक रिपोर्ट हो। हाम्रा आगामी अंकहरूमा थप प्रमाण र अडियो रेकर्डिङहरू सार्वजनिक गरिनेछन्।)





Yo chor haru maysu ra stor incharge sahi/ 3 Jana lai kada karwohi hunai parxa 🙏🙏
Ho yo eak dum right ho lab ma Poni bhanyako r maghyako khi kura aaudina test garne reagent r test kit haru poni eak dum low quality ko lauxan yo kit ko ramro results xain hami li cross check ko li ramro company Ani WHO certified kit dinus bhanda poni aaudina garo x Ani aafno aafno manxe li bina vacancy nai newakti dinxan