वीरगन्ज,०३ जेठ । पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. ५ स्थित झाखरा चौकमा रामजानकी मन्दिर निर्माण कार्यको शिलान्यास गरिएको छ।
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल ले बुधबार एक कार्यक्रमबीच मन्दिरको शिलान्यास गरेका हुन्।
मधेश प्रदेश सरकार को आर्थिक सहयोगमा जगरनाथपुर गाउँपालिका मार्फत निर्माण हुन लागेको उक्त मन्दिरको लागत २५ लाख रुपैयाँ रहेको छ। धार्मिक तथा सांस्कृतिक महत्वलाई संरक्षण गर्दै स्थानीय समुदायको आस्थाको केन्द्रका रूपमा मन्दिर निर्माण गर्न लागिएको गाउँपालिकाले जनाएको छ।
उपभोक्ता समितिमार्फत निर्माण गरिने मन्दिरको काम चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ। गाउँपालिकाका अनुसार निर्माण कार्य असार मसान्तभित्र पूरा गर्नुपर्नेछ।
शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि रिजालले धार्मिक सम्पदाको संरक्षण र विकासले सामाजिक सद्भाव तथा सांस्कृतिक पहिचानलाई मजबुत बनाउने बताए। उनले प्रदेश सरकार र स्थानीय तहबीचको सहकार्यले ग्रामीण विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष बिहारी महतो नुनिया को अध्यक्षता रहेको थियो। कार्यक्रममा प्रेम थापा, विनय द्विवेदी लगायत स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।
स्थानीयवासीहरूले लामो समयदेखि मन्दिर निर्माणको माग गर्दै आएका थिए। मन्दिर निर्माण सम्पन्न भएपछि धार्मिक गतिविधि सञ्चालनमा सहजता आउने तथा क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।




