पर्सा-बारा करिडोरमा अघोषित लोडसेडिङ

spot_img

पर्सा, २१ चैत्र ।

अघोषित लोडसेडिङले पर्सा–बारा औद्योगिक करिडोरका उद्योग मारमा परेका छन् । लोडसेडिङका कारण उत्पादन नै प्रभावित भएको उद्योगीहरूले गुनासो गरेका हुन् ।

वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि गौतमले डेढ सातादेखि करिडोरमा साँझ ६ देखि बिहान ६ बजेसम्म १२ घण्टा निरन्तर लोडसेडिङ भइरहेको गुनासो गरे । ‘एक मेगावाटभन्दा बढी विद्युत् खपत गर्ने उद्योगले यो समस्या भोग्नु परिरहेको छ,’ उनले भने, ‘विद्युत् प्राधिकरणले गार्हस्थ्यतर्फको विद्युत् कटौती गर्दा जनताबाट विरोध आउने डरले औद्योगिक क्षेत्र लक्षित लोडसेडिङ सुरु गरेको छ ।

उद्योगका लागि विद्युत् कच्चा पदार्थ नै हो भन्ने कुरो प्राधिकरणले बुझेन ।’ यस करिडोरमा मात्र करिब २ सय मेगावाट विद्युत् खपत हुने गरेको उनले बताए ।

संघका अध्यक्ष सुबोधकुमार गुप्ताले प्राधिकरणले बिनासूचना करिडोरमा लोडसेडिङ गर्न थालेपछि आफूहरू मारमा परेको बताए । ‘एकातिर लामो समयदेखि कोरोनाको प्रभावले उद्योगहरू थिलथिलो भई भर्खर पुनरुत्थानतर्फ अग्रसर भइरहेको अवस्था छ,’ उनले भने, ‘अर्कोतिर बैंकबाट ऋणको ब्याज वृद्धि, कतिपय मालसामानको आयातमा एक सय प्रतिशतसम्म एलसी मार्जिनलगायत कारण औद्योगिक प्रतिष्ठान पूर्णक्षमतामा सञ्चालन हुन सकेका छैनन् । यस्तो अवस्थामा प्राधिकरणले अघोषित लोडसेडिङ गर्दा करिडोरका उद्योग थप संकटमा परेका छन् ।’

प्राधिकरण वीरगन्ज वितरण केन्द्र प्रमुख जितेन्द्रकुमार झाले केन्द्रीयस्तरबाटै विद्युत् कटौती भइरहेको बताए । उनले करिडोरका उद्योगहरूलाई हाल क्यापिसेटर उपकरण जडान गरेर विद्युत्को प्रणालीलाई स्थायित्व दिन आग्रह गरेको बताए । क्यापिसेटर उपकरणले विद्युत्को खपत कम गछ ।

spot_img

ताजा अपडेट

लोकप्रिय