सर्लाही,१२ वैशाख । सर्लाहीका विभिन्न सीमा नाकाबाट भारततर्फ अवैध रूपमा पठाइएको चिनियाँ लसुन र काँक्रोको बीउ भारतीय सुरक्षाकर्मीले बरामद गरेका छन्। सखुअवा र संग्रामपुर नाका हुँदै तस्करी गरिएको उक्त सामान भारतीय सशस्त्र सीमा बल (एसएसबी) को टोलीले नियन्त्रणमा लिएको हो।
भारतीय पक्षका अनुसार, शुक्रबार सीतामढी जिल्लाअन्तर्गत लालबन्दी नाकामा खटिएको एसएसबी टोलीले दुई वटा महिन्द्रा बोलेरो पिकअप गाडीबाट ठूलो परिमाणमा सामान फेला पारेको हो। बरामद गरिएको लसुन ६७ पोका अर्थात् करिब १,२०६ किलोग्राम रहेको छ भने काँक्रोको बीउ ३,७२४ किलोग्राम रहेको जनाइएको छ।
घटनामा संलग्न दुई जना व्यक्तिलाई पक्राउ गरी प्रयोग गरिएको सवारीसाधनसहित थप अनुसन्धान र कारबाहीका लागि सोनबरसा भन्सार कार्यालय, सीतामढीमा बुझाइएको भारतीय अधिकारीहरूले जानकारी दिएका छन्।
सीमावर्ती क्षेत्रमा यति ठूलो परिमाणमा तस्करीको सामान फेला पर्नुले सर्लाही नाका हुँदै हुने अवैध कारोबार अझै सक्रिय रहेको संकेत गर्दछ। लामो समयदेखि सर्लाही जिल्ला तस्करीका लागि संवेदनशील मार्गका रूपमा चिनिँदै आएको छ।

