नेपाल लाइफको २१ औं वार्षिक साधारण सभा सम्पन्न

spot_img

वीरगञ्ज , २१ चैत । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २१औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । वीरगञ्जमा सोमबार आयोजना भएको साधारण सभाले शेयरधनीहरुलाई चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर तथा प्रति शेयर रु.०.७३६८ (कर प्रयोजनका लागि) नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।

अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा स्वागत मन्तव्य एवं वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उनले समिक्षा वर्षमा कम्पनीले कुल बीमाशुल्क करिब २७ अर्ब ६५ करोड आर्जन गरी सर्वाधिक बजार हिस्सा हासिल गर्न सफल भएकोमा सम्बद्ध सबैमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरे ।

उनले २१ वर्षमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिहरु बीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरी आगामी दिनहरुमा अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

सभामा कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बीमा समितिबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दीगो एवं भरपर्दो लगानीका क्षेत्रहरुमा लगानी विस्तार तथा विविधीकरण गर्दै जाने नीति लिएको वताए । त्यसै गरी, सम्पत्ति र दायित्वबीच सन्तुलन कायम गर्न पूँजीगत लगानी वृद्धि गर्न आवश्यक भएकोले मुलुकका विभिन्न सहरहरुमा दीर्घकालिन पूँजीगत लगानीका लागि ठोस कार्य गर्ने लक्ष्यकासाथ कम्पनी अगाडि बढेको जानकारी गराए ।

सभाबाट आ.व.२०७६÷०७७ को संचालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरणहरु एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरु सभाद्वारा पारित भएको छ । सभाले संस्थापक शेयरधनीका तर्फबाट २०७८ चैत ७ गते प्रकाशित निर्वाचन कार्यक्रम अनुसार २०७८ चैत १३ गते संस्थापक संचालकमा उम्मेद्वारी मनोनयन गरी २०७८ चैत १४ गते अन्तिम नामावली प्रकाशित भए अनुसार निर्विरोध निर्वाचित हुनु भएका चार जना संचालकहरुको नाम घोषणा गरिएको छ । सो अनुसार निर्विरोध निर्वाचित हुने संस्थापक संचालकहरुमा श्री गोविन्द लाल संघई, कमलेश कुमार अग्रवाल, विवेक अग्रवाल र शक्ति कुमार गोल्यान रहनु भएको छ । साधारण सभा सम्पन्न पश्चात् बसेको संचालक समितिको ३३६औं बैठकले नव निर्वाचित संचालक श्री गोविन्द लाल संघईलाई संचालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ ।

हाल यस कम्पनीको लगानी रु. १३३.८६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १२४ अर्ब ८४ करोड रुपैयाँ र शेयरधनी कोष ९ अर्ब ६७ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २ लाख भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । हाल कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर २ सय २ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यस कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरि ३० लाख भन्दा बढी बीमितहरु रहेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय