वीरगञ्ज, २१ चैत ।
वीरगंज महानगरपालिका १० स्थित आदिशक्ति कुमारी माई मन्दिरमा स्थापित मुर्तीको प्राणप्रतिष्ठा एवम् भागवत कथाको पहिलो दिन आज कलशयात्रा निकालिएको छ । रानीघाटस्थित मन्दिर परिसरबाट घोडा, मोटरसाइकल, ब्यान्डबाजा झाँकीका साथमा हजारौं महिला तथा युवतीको सहभागितामा कलशयात्रा निकालिएको थियो ।
कलशयात्रामा सहभागीहरुले घडिअर्वा पोखरीमा जल भरेर माईस्थान, घण्टाघर, श्रीपुर, कृषि अनुसन्धान हुँदै पुन: सोही स्थानमा पुगेर समापन भएको थियो ।
भागवत कथा आज दिउँसो २ बजे देखी ७ बजेसम्म हुने र प्राणप्रतिष्ठा एवम् पुर्णाहुती कुमारी पुजन तथा प्रसाद वितरण २७ गते आइतबारका दिन सम्म चल्ने कुमारी माई मन्दिर समितीले जनाएको छ ।
चैते दशैंलाई मध्यनजर गर्दै समस्त नगरवासी रानीघाटले आयोजना गर्न लागेको भागवत कथा भारतको काशीबाट आउनु भएका मधुकरजी महाराज द्वारा कथा वाचन गर्नुका साथै झाँकी समेत प्रस्तुत गर्ने जनाइएको छ ।
पूजामा पण्डित सुरेन्द्र तिवारी, नारायण तिवारी, सन्तोष झा, रामनारायण महतो धानुक लगायतको सहभागीता रहने छ । भागवत कथा तथा पुजामा भारतका बिभिन्न ठाँउका पण्डितहरुको सहभागीता रहने छ । सात दिनसम्म चल्ने पूजा एवम् कथा वाचनमा सहभागी भई पुण्यको भागी बन्न सम्पूर्णलाई मन्दिर समिती द्वाराआग्रह गरिएको छ ।

