काठमाडौं,१४ जेठ । करिब ५० वर्षपछि बेलायती राजाले क्यानाडाको संसदमा सम्बोधन गरेका छन्। मंगलबार क्यानाडाको नयाँ संसदको औपचारिक उद्घाटनका अवसरमा राजा चार्ल्सले सम्बोधन गर्दै राष्ट्रको सार्वभौमिकता स्थायी हुने तर देशहरूसँगको सम्बन्ध समय र आवश्यकताअनुसार परिवर्तनशील हुने बताएका छन्।
यो सम्बोधन नयाँ प्रधानमन्त्री मार्क कार्नीको नेतृत्वमा बनेको सरकारको नीति र कार्यक्रम सार्वजनिक गर्ने क्रममा भएको हो। कार्नी अप्रिलमा सम्पन्न आमनिर्वाचनपछि प्रधानमन्त्री बनेका थिए।
राजा चार्ल्सको यो सम्बोधन ऐतिहासिक पनि बनेको छ, किनभने यसअघि सन् १९५५ मा बेलायती सम्राटले पहिलो पटक क्यानाडाको संसदमा सम्बोधन गरेका थिए। त्यसबेला रानी एलिजाबेथ द्वितीयले स्वतन्त्र क्यानाडामा पहिलोपटक शाही सम्बोधन गरेकी थिइन्।
सम्बोधनको क्रममा राजा चार्ल्सले क्यानडाले सामना गरिरहेको चुनौतीहरूलाई उल्लेख गर्दै भने, “अहिलेको समय अस्वाभाविक छ, तर आवश्यकताको आधारमा सम्बन्धहरू रूपान्तरण गर्न सकिन्छ।” उनले प्रधानमन्त्री कार्नीको नयाँ आर्थिक दृष्टिकोणको पनि प्रशंसा गरे।
कार्नीले आगामी जुलाई १ देखि लागू हुने विभिन्न नीतिहरूको माध्यमबाट क्यानडाको अर्थतन्त्रलाई गति दिने योजना अघि सारेका छन्। उनले विशेष गरी घरजग्गा समस्या समाधान, अपराध नियन्त्रण, र रक्षा बजेटमा सुधारका विषयलाई प्राथमिकतामा राखेका छन्।

