आसिफको शानदार ९४ रनमा नेपालद्वारा ओमानसामु २५७ रनको चुनौती

spot_img

काठमाडौं,२२ वैशाख । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी सिरिजको अन्तिम खेलमा नेपालले ओमानलाई २५७ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २५६ रनमा समेटियो। नेपालका लागि ओपनर आसिफ शेखले उत्कृष्ट ९४ रनको इनिङ्स खेल्दै टोलीलाई मजबुत अवस्थामा पुर्‍याए। उनले ९७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे। शतक नजिक पुगेका आसिफ ३५औं ओभरमा ठूलो सट खेल्ने प्रयासमा क्याचआउट भए।

आसिफले अर्जुन कुमालसँग दोस्रो विकेटका लागि १२३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। अर्जुनले संयमित ब्याटिङ गर्दै ८७ बलमा ४८ रन बनाए र अर्धशतकबाट दुई रनले चुके।

मध्यक्रममा आरिफ शेखले आक्रामक ब्याटिङ गर्दै २४ बलमा ४३ रन जोडे। उनले १ चौका र ४ छक्का प्रहार गरे। अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गर्दै उनले नेपालको स्कोर उकासेका थिए। उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३३ रनको योगदान दिए भने गुल्सन झाले १७ रन बनाए।

नेपालका कप्तान रोहित पौडेल ९ रनमा आउट हुँदा विनोद भण्डारी खाता नै नखोली पेभिलियन फर्किएका थिए। अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन्।

ओमानका लागि नदिम खानले ३ विकेट लिए भने सकिल अहमदले २ विकेट हात पारे। जितेन रामानान्डी, हसनैन शाह र आर्यन विष्टले समान १–१ विकेट लिए।

अब नेपाल बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय