काठमाडौँ,१४ जेठ । न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स दुईदिने औपचारिक भ्रमणमा आज अपराह्न नेपाल आउँदै छन्। पिटर्सको यो पहिलो नेपाल भ्रमण हो, जसलाई नेपाल–न्युजिल्याण्ड सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा हेरिएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार, काठमाडौँ आगमनलगत्तै उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ।
यस्तै, आजै साँझ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग उनले द्विपक्षीय वार्ता गर्नेछन्। वार्तापछि संयुक्त पत्रकार सम्मेलन हुनेछ भने, उनको सम्मानमा डा. राणाले रात्रिभोजको आयोजना गर्नेछिन्।
भ्रमणका क्रममा दुवै देशबीचको कूटनीतिक सम्बन्ध विस्तार, आपसी सहकार्यका सम्भावना, शिक्षा, व्यापार, पर्यटन लगायतका क्षेत्रमा साझेदारीबारे छलफल हुने अपेक्षा गरिएको छ।

