भारतमा कोरोना संक्रमण पुनः सक्रिय, ११ जनाको मृत्यु, १०४७ सक्रिय संक्रमित

spot_img

काठमाडौँ, १४ जेठ । भारतमा कोरोना भाइरस संक्रमण फेरि बढ्न थालेको संकेत देखिएको छ। पछिल्लो एक सातामा मात्रै ७८७ नयाँ संक्रमित थपिएका छन् भने कुल सक्रिय संक्रमितको संख्या १०४७ पुगेको छ। यसैबीच संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ पुगेको छ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार, सबैभन्दा धेरै सक्रिय केस केरलामा छन्, जहाँ हाल ४३० जना संक्रमित उपचाररत छन्। त्यसपछि महाराष्ट्रमा २०८, दिल्लीमा १०४, गुजरातमा ८३, कर्नाटकमा ८० र बेंगलुरुमा ७३ जना संक्रमित छन्।

कोरोनाका कारण महाराष्ट्रमा सबैभन्दा धेरै पाँच जनाको मृत्यु भएको छ। यस्तै, राजस्थान, पश्चिम बङ्गाल, कर्नाटक र मध्य प्रदेशमा पनि संक्रमितको ज्यान गएको छ। ११ मध्ये नौ जनाको मृत्यु पछिल्लो साताभित्र भएको जनाइएको छ।

जयपुरमा सोमबार दुई संक्रमितको मृत्यु भएको पुष्टि भएको छ। तीमध्ये एक जनाको शव रेलवे स्टेशनमा फेला परेको थियो र मृत्युपछि गरिएको परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको हो। अर्का मृतक २६ वर्षीय युवक पहिलेदेखि क्षयरोगबाट पीडित थिए र एक निजी अस्पतालमा उपचाररत थिए।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (ICMR) का निर्देशक डा. राजीव बहलका अनुसार हालसम्म भारतमा कोरोना भाइरसका चारवटा फरक भेरियन्टहरू फेला परेका छन्। स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन आग्रह गर्दै परीक्षण, ट्र्याकिङ र खोपको प्रभावकारिता सुनिश्चित गर्न प्रदेश सरकारहरूलाई सचेत गराएको छ।

विशेषज्ञहरूका अनुसार, मौसम परिवर्तन, भीडभाड र लापरवाहीका कारण संक्रमण दर फेरि बढ्न सक्ने सम्भावना छ।

spot_img

ताजा अपडेट

लोकप्रिय