काठमाडौं,१५ जेठ । संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय व्यापार अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा विभिन्न देशमाथि लगाइएको अतिरिक्त भन्सार शुल्कहरू तुरुन्त रोक्न आदेश दिएको छ। अदालतको निर्णयमा ट्रम्पले आफ्नो संवैधानिक अधिकारको सीमा नाघेको ठहर गर्दै ती शुल्कहरू अनुचित रहेको उल्लेख छ।
न्युयोर्क सिटीको म्यानह्याटनस्थित अन्तर्राष्ट्रिय व्यापार अदालतको तीन न्यायाधीशहरूको संयुक्त इजलासले बुधबार दिएको आदेश अनुसार ट्रम्पले “राष्ट्रिय आर्थिक आपतकाल” को घोषणा गर्दै चीन, मेक्सिको र क्यानडाबाट आयात हुने सामानहरूमा जुन उच्च दरको भन्सार शुल्क लगाएका थिए, ती अब लागु नहुने भएका छन्।
अदालतले अमेरिकी कंग्रेसलाई वैदेशिक व्यापार नीति र आयात–निर्यातसम्बन्धी व्यवस्था गर्ने स्पष्ट संवैधानिक अधिकार रहेको उल्लेख गर्दै राष्ट्रपतिको एकल निर्णयमा भन्सार दर वृद्धिको अनुमति नदिने निर्णय सुनाएको हो। “राष्ट्रपतिको कदम बुद्धिमानी वा रणनीतिक देखिन सक्छ, तर कानुनले अनुमति नदिएको कुनै कार्यलाई न्यायिक आधार दिन सकिँदैन,” अदालतको आदेशमा भनिएको छ।
अदालतको यो निर्णयसँगै ट्रम्पले ‘फेन्टानिल’ लागुऔषध रोक्ने बहानामा चीनमाथि ३० प्रतिशत, मेक्सिको र क्यानडामाथि २५ प्रतिशत, तथा विश्वव्यापी आयात सामानहरूमा १० प्रतिशतसम्म लगाएको शुल्क स्थगित भएको छ। यद्यपि, ‘व्यापार विस्तार ऐन’ अन्तर्गतको धारा २३२ अन्तर्गत स्टील, आल्मुनियम, अटो तथा अटो पार्टपुर्जामा लगाइएको शुल्क भने यो आदेशले प्रभावित गर्ने छैन।

