काठमाडौं,२० जेठ । भारतमा प्याजको मूल्य एक्कासि २० प्रतिशतसम्म बढेपछि त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि देखिन थालेको छ।
‘द इकोनोमिक टाइम्स’ अनुसार भारतका केही क्षेत्रहरूमा आएको भारी वर्षाले प्याज उत्पादनमा क्षति पुर्याएपछि मूल्य उकालो लागेको हो। उत्पादनसँगै भण्डारणमा वृद्धि भए पनि सरकारी खरिदको अपेक्षाले मूल्य अझै बढ्ने संकेत देखिएको भारतीय व्यापारिक स्रोतहरूले जनाएका छन्।
यसको प्रभाव नेपालमा पनि देखिन थालेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीअनुसार वैशाख २१ देखि जेठ ७ गतेसम्म प्याजको औसत थोक मूल्य प्रतिकिलो ३७ रुपैयाँमा स्थिर थियो। तर त्यसपछिका दिनमा मूल्यमा क्रमिक वृद्धि हुँदै जेठ १९ र २० मा ३९ रुपैयाँ किलो पुगेको देखिन्छ।
त्यसबाहेक, प्याजको आयात पनि घट्न थालेको छ। समितिका अनुसार जेठ १८ गते कालीमाटीमा २३० मेट्रिक टन भारतीय प्याज भित्रिएको थियो भने जेठ १९ मा सो परिमाण घटेर १३९ मेट्रिक टनमा झरेको छ।
आलु–प्याज व्यवसायी संघका महासचिव प्रकाश गजुरेलका अनुसार भारतीय बजारमा मूल्य बढेपछि त्यसको असर नेपालमा पनि स्वाभाविक रूपमा पर्ने बताउँछन्। “हाम्रो आन्तरिक उत्पादनले बजारको माग धान्न सक्दैन, त्यसैले ठूलो मात्रामा भारतबाट प्याज आयात गर्नुपर्छ,” उनले भने, “त्यसैले भारतमै मूल्य बढ्दा नेपालमा पनि उकालो लाग्छ।”
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा वार्षिक करिब २० हजार हेक्टर क्षेत्रमा प्याज खेती हुने र त्यसबाट साढे दुई लाख मेट्रिक टन उत्पादन हुने अनुमान छ। तर बजारको कुल माग धान्न आन्तरिक उत्पादन अपुग हुने भएकाले आयात अपरिहार्य छ।
भन्सार विभागका तथ्यांक अनुसार चालु आर्थिक वर्षका १० महिनामा मात्रै नेपालले करिब ८५ हजार ७८८ मेट्रिक टन प्याज आयात गरेको छ, जसको मूल्य ३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। यसमध्ये भारतबाट मात्रै ३ अर्ब ६६ करोड रुपैयाँ बराबरको प्याज आयात भएको छ।
भारतमा मूल्य अझै बढ्ने अनुमानसँगै नेपालमा समेत आगामी दिनमा प्याजको भाउ अझै चर्किने सम्भावना देखिएको छ।

