काठमाडौं,२१ जेठ । भारतका पूर्वोत्तर राज्यहरूमा लगातारको भारी वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण हालसम्म ४४ जनाको मृत्यु भएको छ। सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
गत बिहीबारदेखि सुरु भएको अविरल वर्षापछि विभिन्न राज्यहरूमा बाढी तथा पहिरोका घटनाहरू भएका हुन्। आसाममा १७, अरुणाचल प्रदेशमा १२, मेघालयमा ६, मिजोराममा ५, त्रिपुरामा २ तथा नागाल्याण्ड र मणिपुरमा एक–एक जनाको मृत्यु भएको हो।
यसैबीच, सिक्किममा आइतबार साँझ आएको बाढीले सैनिक क्याम्प बगाउँदा तीन जना सैनिकको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता छन्।
सबैभन्दा ठूलो प्रभाव आसाममा परेको छ। आसाम विपद् व्यवस्थापन प्राधिकरणका अनुसार राज्यका २१ जिल्लाका १,५०६ गाउँका करिब ६ लाख ३३ हजारभन्दा बढी मानिस बाढीबाट प्रभावित भएका छन्। बाढीले १४ हजार ७३९ हेक्टर खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ भने सबैभन्दा प्रभावित जिल्ला श्रीभूमि रहेको छ, जहाँ २ लाख ३१ हजारभन्दा बढी जनसंख्या संकटमा परेका छन्।
बाढीपीडितमध्ये ३९ हजार ७४६ जनालाई अस्थायी शिविरमा राखिएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहे पनि लगातारको वर्षाले कठिनाइ थपिएको बताइएको छ।
विपद्बाट प्रभावित राज्यहरूमा केन्द्र तथा स्थानीय सरकारले आपत्कालीन सतर्कता जारी गरेका छन् भने जनतालाई सुरक्षित स्थानमा सराइरहेका छन्।

