बुडापेस्ट,२२ जेठ । युरोपेली पत्रकार महासङ्घ (EFJ) ले गाजामा इजरायलद्वारा सञ्चालित सैन्य कारबाहीलाई पत्रकारहरूमाथिको ‘अकल्पनीय नरसंहार’ को संज्ञा दिँदै कडा शब्दमा निन्दा गरेको छ। महासङ्घका अनुसार सन् २०२३ अक्टोबरदेखि अहिलेसम्म गाजामा करिब २०० पत्रकार तथा मिडियाकर्मीले ज्यान गुमाइसकेका छन्।
बुडापेस्टमा सम्पन्न दुईदिने बैठकपछि जारी गरिएको विज्ञप्तिमा EFJ ले गाजामा पत्रकारसहित सर्वसाधारणमाथि भएको हिंसात्मक कारबाहीप्रति चिन्ता व्यक्त गर्दै मानव अधिकार र प्रेस स्वतन्त्रतामाथिको गम्भीर आघात भएको जनाएको छ।
संघका १२० सदस्य संस्थाहरूले हस्ताक्षर गरेको घोषणापत्रमा भनिएको छ, “इजरायली सेनाले युद्ध अपराधका साक्षीहरूलाई चुप गराउन गाजामा मिडियाको पहुँचमा अवरोध गरिरहेको छ। यो सूचना नियन्त्रण गर्ने रणनीति हो, जसले अन्तर्राष्ट्रिय न्यायप्रणालीको अवहेलनाको संकेत गर्छ।”
EFJ ले गाजाको संकटमा परेका प्यालेस्टिनी पत्रकारहरूसँग ऐक्यबद्धता जनाउँदै युरोपभरका पत्रकार र मिडियाकर्मीलाई प्रतीकात्मक सतर्कता (symbolic vigil) आयोजना गर्न आग्रह गरेको छ। साथै, महासङ्घले युरोपेली संघका निकायहरूलाई गाजामा सूचनाको स्वतन्त्रता सुनिश्चित गर्न र पत्रकारहरूको सुरक्षाका लागि पहल लिन आह्वान गरेको छ।
युद्धग्रस्त क्षेत्र गाजामा अन्तर्राष्ट्रिय मिडियाको सहज पहुँचको माग गर्दै EFJ ले तत्काल युद्धविराम, नागरिकहरूको सुरक्षाको प्रत्याभूति र दोषीलाई दण्डबाट उन्मुक्ति नदिने व्यवस्था गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपील गरेको छ।
यो अपिल अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता र मानव अधिकारको रक्षाका लागि एक निर्णायक चेतावनीको रूपमा आएको हो।

