वीरगञ्ज । हालै फैलिएको हैजाको प्रकोपलाई ध्यानमा राख्दै वीरगञ्ज महानगरपालिकाले सामुदायिक र निजी विद्यालयहरू भदौ ११ गतेदेखि १३ गते (शुक्रबार) सम्म बन्द गर्ने निर्णय गरेको छ। मंगलबार तीज पर्वका कारण विद्यालय स्वतः बन्द हुने भएकाले महानगरले शुक्रवारसम्मका लागि पठनपाठन स्थगित गरिएको हो।
यसअघि आइतबार र सोमबार दुई दिन विद्यालय बन्द गर्ने निर्णय भइसकेको थियो।
महानगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बसेको बैठकले हैजा नियन्त्रणका लागि शिक्षक र कर्मचारीलाई टोली बनाएर समुदायमै जनचेतना फैलाउन निर्देशन दिएको छ।
शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेका अनुसार विद्यालयहरूले पोस्टर, पम्प्लेटलगायत सामग्री महानगरबाट प्राप्त गरेर प्रचार–प्रसार गर्न सक्नेछन्।
महानगरले हैजा नियन्त्रणका थप उपाय पनि अघि सारेको छ।
-
सडक किनारका स्ट्रीट फुड (जस्तै पानीपुरी, चाट, पुच्का आदि) मा पूर्ण प्रतिबन्ध।
-
स्वास्थ्यकर्मी टोलीमार्फत प्रत्येक टोलमा जनचेतना कार्यक्रम।
-
उमालिएको पानी मात्र खाने, फलफूल–तरकारी सफा गरेर पकाउने र बासी–काँचो खानेकुरा नखान आग्रह।
-
बिरामीलाई निःशुल्क उपचारको व्यवस्था।
-
खानेपानी आपूर्तिको पाइप व्यवस्थापनमा सुधार।
महानगरले आफ्ना सम्पूर्ण कर्मचारीलाई सचेतना अभियानमा सक्रिय रहन आह्वान गरेको छ।



