काठमाडौँ,१२ भदाै । प्रतिनिधि सभाले भदौ महिनाभरि बस्ने बैठकका क्रममा १३ गते भूमि सम्बन्धी विधेयक र २६ गते विद्यालय शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ।
सभामुख देवराज घिमिरेले बिहीवार प्रमुख राजनीतिक दलका सचेतकहरूसँग बैठकको कार्यसूची निर्धारणबारे छलफल गर्नुभएको थियो। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार, शुक्रवारको बैठकमा भूमि सम्बन्धी विधेयक पारित गरी राष्ट्रिय सभामा पठाउने र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका तय गरिएको छ।
भदौ १८ र १९ गते बस्ने बैठकमा नागरिकता सम्बन्धी विधेयक र संवैधानिक परिषद्को अधिकार तथा कार्यविधिसँग सम्बन्धित विधेयक पारित गर्ने योजना रहेको छ। यदि संघीय निजामति विधेयक १७ गते राष्ट्रिय सभाबाट सन्देशसहित फिर्ता आएमा १८ गते टेबुल गरी १९ गते पारित गरिनेछ।
भदौ २५, २६ र २७ गते बस्ने बैठकमा अन्य व्यवस्थापनसम्बन्धी विधेयकहरू छलफल हुने छन् भने २६ गते विशेषगरी विद्यालय शिक्षा विधेयक पारित गर्ने तयारी गरिएको छ।
सचेतक बर्तौलाले भन्नुभयो, “भदौ महिनाभरि हाम्रो बैठकको मुख्य केन्द्रबिन्दु महत्वपूर्ण विधेयकहरूको पारितिमा हुनेछ। १३ गते भूमि विधेयक र २६ गते शिक्षा विधेयकलाई प्राथमिकतामा राखेका छौँ।”

