काठमाडौं,१४ भदौ । कप्तान रोहित पौडेलको अविजित शतकको मद्दतमा नेपाली क्रिकेट टोलीले साउथ अस्ट्रेलिया (एसए) विरुद्धको अभ्यास वानडे खेलमा रोमाञ्चक जीत हासिल गरेको छ। शनिबार सम्पन्न खेलमा साउथ अस्ट्रेलियाले दिएको २४३ रनको लक्ष्य नेपालले ५ बल बाँकी छँदा ८ विकेट गुमाउँदै पूरा गर्यो।
नेपालका लागि कप्तान रोहितले १०१ अविजित रनको शानदार प्रदर्शन गरे भने सोमपाल कामीले ४० रनको महत्वपूर्ण साथ दिए। नेपाल १६१ रनमा ८ विकेट गुमाएर दबाबमा परेको अवस्थामा रोहित र सोमपालबीचको अर्धशतकीय साझेदारीले जितको आधार तयार गर्यो।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलिया ४५ ओभरमै २४२ रनमा अलआउट भएको थियो। घरेलु टोलीका ह्यारी मानेन्तीले सर्वाधिक ६३ रन, दुवित हूगानबोजमले ५३ रन, रायन किङले ३५ रन र म्याकेन्जी हार्भेले २४ रन जोडे।
नेपालका बलरहरूमा नन्दन यादव र सोमपाल कामीले समान ३–३ विकेट, सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहले १–१ विकेट लिए।
यसअघि सम्पन्न टप एन्ड टी–२० सिरिजमा नेपाल ११ टोलीमध्ये आठौँ स्थानमा रहेको थियो। अस्ट्रेलिया भ्रमणलाई नेपालले आगामी विश्वकप छनोटको तयारीका लागि महत्वपूर्ण अभ्यासको रूपमा लिएको छ।

