मैत्रीपूर्ण फुटबलमा आरम्भ भेट्रान क्लबले पत्रकार टोलीलाई हरायो

spot_img

बीरगन्ज,१४ भदौ । बीरगन्जमा शनिबार आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा आरम्भ भेट्रान क्लबले पत्रकारहरूको टोलीलाई २–१ गोलअन्तरले पराजित गरेको छ।

नारायणी रंगशालामा भएको ३० मिनेटको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। तर, दोस्रो हाफको सुरुवातमै मदन साहले पहिलो गोल गर्दै भेट्रान क्लबलाई अग्रता दिलाए। त्यसपछि, सुदीप शाहीले दोस्रो गोल थपेपछि पत्रकारहरूको टोली दबाबमा परेको थियो। खेलको अन्तिम समयमा पत्रकार टोलीका विशेष्वर पटेलले एक गोल फर्काए, तर टोलीलाई हारबाट जोगाउन सकेनन्।

खेलमा पत्रकार टोलीको नेतृत्व नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादवले गरेका थिए भने भेट्रान क्लबको कप्तानी सचिव सन्तोष खड्काले गरेका थिए।

रंगशालाको मर्मतमा जुटे स्थानीय खेलाडी
नारायणी रंगशालाको जिर्ण अवस्थाले खेलकुद गतिविधि प्रभावित भएपछि स्थानीय खेलाडीहरू आफैं मैदानको सरसफाइ र मर्मतमा जुटेका छन्।

आरम्भ भेट्रान क्लबका सचिव सन्तोष खड्काका अनुसार, बजेट अभावका कारण मैदानको स्तरोन्नति नहुँदा खेलहरू रोकिएका छन्। “मैदान सरसफाइ र सामान्य मर्मत गरेर भए पनि अभ्यास गर्न सकिने भएकोले हामी आफैं खटिएका छौं,” उनले बताए।

खेलाडीहरूका साथमा १३ नम्बर गणका सशस्त्र प्रहरी जवानहरू पनि बिहानको समयमा मैदान सफाइ र मर्मतमा संलग्न छन्।

अर्का खेलाडी सुनिल राउतले नारायणी रंगशालाको जिर्ण अवस्थाले खेलाडीहरूलाई अभ्यास र प्रतियोगितामा सहभागी हुन कठिनाइ भएको गुनासो गर्दै भने, “दशरथ रंगशालापछि दोस्रो ठूलो यो रंगशालाको स्तरोन्नतिका लागि पटक–पटक आश्वासन त दिइयो, तर कार्यान्वयन कहिल्यै भएन।”

spot_img

ताजा अपडेट

लोकप्रिय