काठमाडौँ,२० भदौ । सरकारले दर्ता नभएका २६ वटा सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेपछि यसको प्रत्यक्ष असर नेपालका दूरसञ्चार कम्पनीहरूको व्यवसायमा पर्न थालेको छ।
फेसबुक, युट्युब, इन्स्टाग्राम लगायतका अत्यधिक डेटा खपत हुने प्लेटफर्महरू बन्द हुँदा नेपाल टेलिकम र एनसेल जस्ता प्रमुख कम्पनीहरूलाई अर्बौंको क्षति हुने देखिएको छ । एनसेल स्रोतका अनुसार, ग्राहकहरूले प्रयोग गर्ने कुल डेटा ब्यान्डविथको आधाभन्दा बढी हिस्सा फेसबुक र युट्युबले ओगट्दै आएका थिए। यी प्लेटफर्महरू बन्द भएसँगै कम्पनीहरूको मुख्य आम्दानीको स्रोतमा सिधा नकारात्मक असर परेको छ।
२०८० सालमा टिकटक मात्र बन्द हुँदा पनि टेलिकम कम्पनीहरूले करिब ४ अर्ब रुपैयाँको क्षति व्यहोर्नुपरेको थियो। एनसेलका एक अधिकारीले भने, ‘अहिले त टिकटकभन्दा धेरै डेटा खपत हुने एपहरू नै बन्द भएका छन्, त्यसैले क्षति धेरै गुणा बढी हुन सक्नेछ।’
सामाजिक सञ्जाल बन्द भएपछि धेरै उपभोक्ताहरूले भीपीएनको प्रयोग गर्न थालेका छन्। यसले स्थानीय ब्यान्डविथको व्यवसाय अन्तर्राष्ट्रिय ब्यान्डविथमा सरेको छ, जसले नेपाली दूरसञ्चार कम्पनीहरूको आम्दानी थप घटाउनेछ। इन्टरनेट सेवा प्रदायकहरूका अनुसार भीपीएन प्रयोगले लागत बढाउने हुँदा भविष्यमा इन्टरनेटको मूल्यसमेत बढ्न सक्ने सम्भावना छ । सरकारको आग्रहलाई बेवास्ता गर्दै आएका सामाजिक सञ्जाल कम्पनीहरूमध्ये हालसम्म हाम्रो पात्रो, ट्वीटर (एक्स), मेटा र वीच्याट मात्र सूचीकरण प्रक्रियाका लागि सरकारको सम्पर्कमा आएका छन् ।



