कोल्भि नगरपालिका–प्रसौना गाउँमा प्रभु अस्पतालद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। स्थानीय स्वास्थ्य सेवाप्रतिको पहुँचलाई सहज बनाउनका लागि आयोजना गरिएको शिविरमा बिहान ७ बजेदेखि ११ बजेसम्म स्वास्थ्य परीक्षण सेवा प्रदान गरिएको थियो।
शिविरमा १७० भन्दा बढी सर्वसाधारणले आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए। स्वास्थ्य परीक्षणका क्रममा सामान्य रक्तचाप, मधुमेह, नाडी जाँचदेखि लिएर पेटसम्बन्धी समस्या, महिलासम्बन्धी स्वास्थ्य जाँच तथा वृद्धवृद्धाको विशेष स्वास्थ्य परामर्शसमेत दिइएको थियो।
शिविरमा डा. मनोज गुप्ता, डा. लक्ष्मी थापा, डा. अस्लाम अन्सारी, डा. रवि रञ्जन शाह र डा. प्रयास तिमिल्सिनाको टोली संलग्न थियो। चिकित्सक टोलीले स्थानीयलाई निःशुल्क औषधि वितरण गर्नुका साथै खानपान, सरसफाइ र जीवनशैलीसँग सम्बन्धित परामर्शसमेत दिएका थिए।
स्वास्थ्य शिविरमा सहभागी स्थानीयवासीले यस्तो पहलले गाउँका सर्वसाधारणलाई ठूलो राहत मिलेको बताएका छन्। स्वास्थ्य संस्थासम्म पुग्न समय र खर्च लाग्ने भएकाले गाउँमै निःशुल्क सेवा पाउनु महत्वपूर्ण रहेको उनीहरूको भनाइ थियो।
प्रभु अस्पतालका प्रतिनिधिहरूले स्वास्थ्य शिविरलाई निरन्तरता दिने योजना रहेको जानकारी दिएका छन्। उनका अनुसार विशेष गरी ग्रामीण क्षेत्रका मानिसलाई प्राथमिक स्वास्थ्य परीक्षण र सचेतनाको कार्यक्रमले दीर्घकालीन लाभ दिने विश्वास गरिएको छ।




