काठमाडौं,२९ भदौ । क्रिकेट प्रेमीहरूको ध्यान तान्ने एसिया कपमा आज भारत र पाकिस्तान आमनेसामने हुँदैछन्। समूह ‘ए’ अन्तर्गतको यो खेललाई निकै रोमाञ्चक रुपमा हेरिएको छ।
समूह चरणमा दुवै टिमले एक–एक खेल जितेका छन् र समान दुई अंकसहित छन्। तर रनरेटको आधारमा भारत शीर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ। भारतले पहिलो खेलमा यूएईलाई ९ विकेटले हराएको थियो भने पाकिस्तानले ओमानविरुद्ध ९३ रनको विजय निकालेको थियो।
दुबै टिमबीचको भिडन्त आज राति ८:१५ बजे यूएईमा सुरु हुनेछ।
यसपटकको एसिया कपमा दुई समूहमा विभाजित आठ टिम प्रतिस्पर्धा गरिरहेका छन्। समूह ‘ए’मा भारत, पाकिस्तान, यूएई र ओमान छन् भने समूह ‘बी’मा श्रीलंका, अफगानिस्तान, बंगलादेश र हङकङ रहेका छन्।

