काठमाडौं,३१ भदाै । गत भदौ २३ र २४ को जेन–जी आन्दोलनले देशभर जीवन अस्तव्यस्त बनाएको थियो। यसका कारण खेल क्षेत्र पनि प्रभावित भयो, फुटबल र भलिबलका कार्यक्रमहरू स्थगित भए। तर, नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपिएल) मसिंर १ देखि २७ सम्म तोकिएको मितिमा हुने प्रवक्ताहरूले पुष्टि गरेका छन्।
एनपिएलको आयोजना हुने कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केही निर्माण कार्य जेन–जी आन्दोलनका कारण ढिलाइ भएको थियो। प्रेम पौडेल, बिकेओआई केसिडिसि बिजीको जोइन्ट भेन्चर कम्पनीका प्रतिनिधि अनुसार प्याराफिटको निर्माण कार्य पूरा भइसकेको छ, बाँकी सरसफाइको काम १–२ दिनभित्र सम्पन्न गरिनेछ।
फ्लड्लाइट जडानको काम भने हप्ता दिन रोकिएपछि अझै बाँकी छ। परियोजना प्रबन्धक सौरभ साहका अनुसार, भन्सारमा रोकिएका सामग्रीहरू जुट्ने वित्तिकै काम सकिनेछ। त्यसपछि मैदान क्यानलाई हस्तान्तरण गरिनेछ।
यस पटकको एनपिएलमा ८ टोली सहभागिता जनाउने छन् र क्यानले मिनी अक्सन पनि सम्पन्न गरिसकेको छ। क्यान प्रवक्ता छुम्बी लामाका अनुसार, “जेन–जी आन्दोलनले सामान्य असर मात्र पारेको छ। एनपिएल तोकिएको मितिमा नै सम्पन्न हुने निश्चित छ।”
क्रिकेटप्रेमीहरू अब मसिंर १ देखि सुरु हुने एनपिएलमा उत्साहित छन्, र निर्माण कार्य पूरा भएसँगै मैदान पूर्ण रूपमा खेलका लागि तयार हुने छ।

