जनकपुर,११ असोज । नेपाल प्रिमियर लिग (NPL) को गत वर्षको च्याम्पियन जनकपुर बोल्ट्सले शुक्रबार आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ। टोलीले मधेश प्रदेशको क्रिकेट भावना, सांस्कृतिक आत्मसम्मान र पहिचानलाई प्रतिनिधित्व गर्ने उद्देश्यले नयाँ लोगो ल्याएको जनाएको छ।
जनकपुर बोल्ट्सका अनुसार यो लोगो केवल एक फ्रेन्चाइज टिमको प्रतीक मात्र नभई मधेशका जनताको गर्व, पहिचान र क्रिकेटप्रतिको आत्मस्वाभिमानको प्रतिनिधि हो।
गत वर्ष सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि जितेको जनकपुर बोल्ट्सले आफ्नो विजयी यात्राको निरन्तरता, साहसिक शैली र प्रतिस्पर्धी भावना यस लोगोमार्फत झल्किने विश्वास व्यक्त गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “क्रिकेट भावना र प्रतिस्पर्धाको आत्मविश्वास अब लोगो र ब्रान्डिङमार्फत अझ दृढ हुनेछ। यो लोगोले दृढ, साहसी र उत्साहपूर्ण प्रस्तुतिको वाचा सत्य बनाउनेछ।”
बोल्ट्सले नयाँ लोगो आफ्नो यात्राको अर्को कोसेढुंगा भएको उल्लेख गर्दै टिम, समर्थक र सम्पूर्ण मधेशका जनताले यसलाई साझा गर्वको रूपमा लिने अपेक्षा व्यक्त गरेको छ।

