काठमाडौं,११ असोज । नेपालले आज पहिलोपटक टेस्ट राष्ट्र र दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दैछ। युनिटी कप क्रिकेट शृङ्खलाअन्तर्गतको पहिलो खेल संयुक्त अरब इमिरेट्स (युएई) को शारजाह क्रिकेट रंगशालामा बेलुका सवा ८ बजे सुरु हुनेछ।
नेपालले यस खेललाई ऐतिहासिक मानेको छ। वेस्ट इन्डिजसँगको तीन खेलको शृङ्खलामा दोस्रो खेल असोज १३ र तेस्रो खेल १४ गते हुनेछ। यसपछि नेपाली टोली ओमान प्रस्थान गरी आगामी आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटका तयारीमा जुट्नेछ।
नेपालको टोली रोहित पौडेलको कप्तानीमा मैदान उत्रिँदैछ। उपकप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेखसहित आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा र साहब आलम टोलीमा छन्।
वेस्ट इन्डिजको नेतृत्व अकिल होसेनले गरिरहेका छन्। टोलीमा जेसन होल्डर, काइल मेयर्स, फाबियन एलेन, करिमा गोरे, अमिर जान्गू, ओबेड मेकोए, शमार स्प्रिङ्गर, रामोन सिमन्ड्सलगायत खेलाडी सामेल छन्।

