चाडपर्व आउँदा हाम्रो मनमा उत्साहसँगै अनेक भावनाहरू उम्लिन्छन्। खानपिनदेखि व्यवहारसम्म परिवर्तन देखिन्छ, जुन हाम्रो मौलिक पर्वहरूको विशेषता पनि हो। यसले परिवारमा आत्मीयता र बालबालिकामा झन् रमाइलोपन थप्छ भने वयस्कका लागि भेटघाट, टीका–आशीर्वाद, शुभकामना र उच्च मनोबलको कामना गर्ने अवसर बनाउँछ।
तर पछिल्ला वर्षमा पर्व मनाउने तरिकामा केही विकृति पनि देखिन थालेका छन्। ऋण गरेर भए पनि मासु–मदिरा अनिवार्य गर्ने, बोतलमा प्याक गरिएको चिसो पेय वा जङ्क फुडलाई पर्वको मुख्य अङ्ग ठान्ने, जुवा–तासलाई रमाइलोको पर्याय बनाउने जस्ता प्रवृत्तिले हाम्रो मौलिकता मात्र हराउँदै छैन, स्वास्थ्य र सामाजिक जीवनमा नकारात्मक असर पार्दैछ।
आहार–बिहार असन्तुलित हुँदा विचारमा विकृति आउँछ र त्यसले व्यवहारमा असर पुर्याउँछ। परिणामस्वरूप शारीरिक अस्वस्थता, मानसिक असन्तोष, सामाजिक टाढोपन र आध्यात्मिक शून्यता बढ्छ।
- त्यसैले चाडपर्वलाई सरल, संयमित र सन्तुलित ढङ्गले मनाउनु आवश्यक छ।
- मासु खाँदा हरियो तरकारी, फलफूल र क्षारीय तत्त्वयुक्त खानेकुराको सन्तुलन राखौं।
- पेय पदार्थमा दही, लस्सी वा महलाई प्राथमिकता दिऔं।
- मद्यपान र जुवातासले ल्याउने दीर्घकालीन हानीबारे सजग बनौं।
- बिदाको केही समय योग, ध्यान, भजन, संगीत वा पारिवारिक रमाइलोपनमा खर्च गरौं।
- यी अभ्यासहरूले परिवारमा माया, छरछिमेकमा सद्भाव र आफैँमा उच्च मनोबल कायम गर्न मद्दत गर्छन्।
हामी सबैको सामाजिक दायित्व अझ सबल बनोस्, आध्यात्मिक ऊर्जा बढोस्, र जीवनशैली स्वस्थ, सक्रिय र उत्साहपूर्ण रहोस्। आउँदै गरेका सबै चाडपर्वले प्रत्येकमा सुख–शान्ति, आत्मीयता र आशा जगाओस् भन्ने शुभकामना।




