काठमाडौँ,१६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका राजनीतिक दलहरूले सत्य बोल्न नसक्ने हो भने नेपाली डिक्सनेरी ‘सत्य’ शब्द झिक्नुपर्ने बताएका छन् । नेकपा एमाले वन तथा वातावरण विभागले मंगलबार आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले तोडफोड, आगजनी र लुटपाटलाई क्रान्ति भनेर सत्य नबोल्ने हो सत्य शब्द झिक्नुपर्ने बताएका हुन् ।
साथै उनले केही मानिस त्यही वितण्डा र अराजकताको लाभ लिइरहेको बताए । ‘देशको स्वार्थलाई मासेर, आगो लगाएर । अराजकता, वितण्डा, आगजनी । यस्तो वितण्डालाई महिमा मण्डन गरेर । कति गैरजिम्मेवार तरिका होला भन्ठान्छु ।’ पूर्व प्रधानमन्त्री ओलीले देशलाई सही ट्रयाकमा फर्काउनै पर्ने बताए ।
‘यदि यति सारो संविधान मिचिएको कुरालाई मिचियो भन्न सक्दैनौ हामी, अवैध र अनधिकृत रूपमा सिफारिस गरिएको संसद् विघटनले लोकतन्त्र मासियोसम्म भन्न सक्दैनौँ भने नेपाली डिक्सनेरीबाट ‘सत्य’ भन्ने शब्द डिलिट गर्दिए हुन्छ’, ओलीको भनाइ छ ।
उनले यति पनि भन्न नसक्ने हो भने के भन्न सक्छौ भन्दै दलहरूको के स्नेह हो भनेर प्रश्न गरे । ओलीले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चले दिएको परमादेशको पनि आलोचना गरे । मुलुकको परिस्थिति जटिल अवस्थामा रहेको बेला एमालेको महाधिवेशन हुन लागेकाले महाधिवेशनमार्फत समस्यालाई जित्ने गरी लाग्न नेता कार्यकर्तालाई ओलीले आह्वान समेत गरे ।

