वीरगन्ज,०५ माघ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि पर्सा जिल्लामा निर्वाचन प्रहरी (म्यादी प्रहरी) को छनोट प्रक्रिया सुरु गरिएको छ । आवेदन दिएका उम्मेदवारहरूको शारीरिक परीक्षणसहित प्रारम्भिक छनोट आजदेखि वीरगञ्जस्थित नारायणी रङ्गशालामा सञ्चालनमा आएको छ ।
निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीका अनुसार बिहानैदेखि प्रक्रिया सुरु भइसकेको छ । यस वर्ष निर्वाचन प्रहरी बन्ने चाहना राख्ने युवाहरूको उल्लेख्य सहभागिता देखिएको उनले बताए ।
छनोट प्रक्रिया निष्पक्ष र पारदर्शी बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागको संयुक्त निगरानी र सुपरिवेक्षणमा प्रक्रिया अगाडि बढाइएको छ । उम्मेदवारहरूको शारीरिक क्षमता मूल्याङ्कनका लागि दौड लगायतका गतिविधिलाई मुख्य आधार बनाइएको छ ।
पर्सामा नेपाल प्रहरीतर्फ २ हजार ४६७ र सशस्त्र प्रहरीतर्फ ३८५ गरी कुल २ हजार ८५२ जना निर्वाचन प्रहरी आवश्यक रहेकोमा मागभन्दा दोब्बरभन्दा बढी आवेदन परेको छ । नेपाल प्रहरीतर्फ ५ हजार ३९९ र सशस्त्र प्रहरीतर्फ ५७१ जनाले आवेदन दिएका छन् । उच्च प्रतिस्पर्धाबीच भइरहेको छनोट प्रक्रियाबाट योग्य र सक्षम जनशक्ति छनोट गरी निर्वाचन सुरक्षामा परिचालन गरिने प्रशासनले जनाएको छ ।

