काठमाडौं,१४ माघ । बेलायतका प्रधानमन्त्री किएर स्टार्मर चीनको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन्। सन् २०१८ पछि चीन भ्रमण गर्ने उनी पहिलो बेलायती प्रधानमन्त्री बनेका छन्।
भ्रमणका क्रममा प्रधानमन्त्री स्टार्मरले बिहीबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनको भ्रमण टोलीमा करिब ६० जना बेलायती व्यापारी तथा सांस्कृतिक क्षेत्रका प्रतिनिधिहरू सहभागी छन्। बीबीसीका अनुसार एचएसबीसी बैंक, औषधि कम्पनी जीएसके, जगुआर ल्यान्ड रोभर तथा नेसनल थिएटरका प्रतिनिधिहरू टोलीमा समावेश छन्।
चीनसँग बेलायतको सम्बन्ध पुनः सुदृढ गर्ने सरकारको प्रयासअन्तर्गत यस भ्रमणलाई हालसम्मकै महत्वपूर्ण र निर्णायक कूटनीतिक कदमका रूपमा हेरिएको छ। यद्यपि, आलोचकहरूले भने चीनको नीति र दृष्टिकोण फरक रहेको उल्लेख गर्दै उसमाथि पूर्ण भरोसा गर्न नसकिने तथा चिनियाँ कम्युनिस्ट पार्टीसँगको सम्बन्धमा सरकार अझ सतर्क हुनुपर्ने बताएका छन्।
प्रधानमन्त्री स्टार्मरसँग राष्ट्रपति सी जिनपिङसँगको भेटमा मानवअधिकारका विषय उठाइने कि नउठाइने भन्ने प्रश्न गरिएको थियो। त्यसमा उनले ‘जहाँ हित र मूल्यहरूमा भिन्नता देखिन्छ, त्यस्ता विषयमा स्पष्ट रूपमा छलफल गरिने’ प्रतिक्रिया दिएका छन्।
चीनमाथि उत्तर–पश्चिमी क्षेत्र शिनजियाङमा उइगर समुदायसहित अन्य मुस्लिम जातीय समूहविरुद्ध मानवअधिकार उल्लंघन गरेको आरोप लाग्दै आएको छ।



