समावेशी चुनाव नहुँदा बङ्गलादेशमा संकट बढ्छ : शेख हसिना

spot_img

काठमाडौं,१५ माघ । बङ्गलादेशकी बहिष्कृत पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतस्थित निर्वासनबाट आगामी आम निर्वाचनप्रति कडा आपत्ति जनाएकी छन्। आफ्नो दल अवामी लिगलाई चुनावबाट बाहिर राखिएकाले निर्वाचन समावेशी, स्वतन्त्र र निष्पक्ष हुन नसक्ने उनको दाबी छ।

एसोसिएटेड प्रेसलाई इमेलमार्फत प्रतिक्रिया दिँदै हसिनाले अवामी लिगमाथिको प्रतिबन्धले लाखौँ समर्थक मताधिकारबाट वञ्चित भएको आरोप लगाइन्। समावेशी चुनाव नहुँदा देश दीर्घकालीन राजनीतिक अस्थिरतामा फस्ने चेतावनी पनि उनले दिएकी छन्।

नोबेल विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले जानाजानी आफ्नो दललाई बहिष्कृत गरेको भन्दै हसिनाले यस्तो प्रक्रियाबाट बनेको सरकारले विभाजित राष्ट्रलाई एकताबद्ध गर्न नसक्ने बताइन्।

फेब्रुअरी १२ मा हुने निर्वाचनमा करिब १२ करोड ७० लाख मतदाता सहभागी हुने अनुमान छ। अगस्ट ५, २०२४ को हिंसात्मक विद्रोहपछि हसिना सत्ताच्युत भएपछि हुन लागेको यो पहिलो निर्वाचन हो। अन्तरिम सरकारले स्वतन्त्र र निष्पक्ष चुनावको प्रतिबद्धता जनाए पनि अवामी लिगमाथिको प्रतिबन्धले निर्वाचनको समावेशीतामाथि प्रश्न उठेको छ।

हसिनाको बहिर्गमनपछि मानव अधिकार, अल्पसङ्ख्यकको सुरक्षा र प्रेस स्वतन्त्रताबारे चिन्ता बढ्दै गएको छ। यस निर्वाचनमा तारिक रहमानको नेतृत्वमा रहेको बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) मुख्य प्रतिस्पर्धीका रूपमा देखिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय