काठमाडौं, १६ माघ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि अर्थ मन्त्रालयले कुल १९ अर्ब १५ करोड रुपैयाँ बराबर स्रोत सहमति प्रदान गरेको छ। यसमध्ये ६ अर्ब ३६ करोड रुपैयाँ निकासा भइसकेको मन्त्रालयको तथ्यांकमा देखिएको छ।
निर्वाचन आयोगका लागि मात्रै १८ कात्तिकमा ४ अर्ब ९६ करोड रुपैयाँ स्रोत सहमति दिइएको थियो। पछि २० पुसमा थप १ अर्ब ७७ करोड ९० हजार रुपैयाँ स्रोत सहमति थपियो। यस अनुसार निर्वाचन आयोगलाई हालसम्म कुल ६ अर्ब ७३ करोड ६६ लाख ९० हजार बराबर स्रोत सहमति उपलब्ध गराइएको छ। निकासाको विवरणअनुसार, १२ मंसिरमा ४ करोड ३१ लाख रुपैयाँ निकासा भएको थियो भने अहिलेसम्म निर्वाचन आयोगलाई ६ अर्ब ३१ करोड रुपैयाँ निकासा भइसकेको छ।
निर्वाचन तयारीका लागि सुरक्षा निकायलाई पनि ठूलो बजेट प्रदान गरिएको छ। राष्ट्रिय अनुसन्धान विभागलाई १३ कात्तिकमा २ करोड ८० लाख रुपैयाँ स्रोत सहमति दिइएको थियो भने नेपाली सेनालाई उपकरण खरिदका लागि २८ मंसिरमा ४ करोड ४२ लाख ५० हजार रुपैयाँ र २० पुसमा १ अर्ब ९४ करोड रुपैयाँ बराबरको स्रोत सहमति दिइएको छ।
गृह मन्त्रालय र मातहतका निकायलाई निर्वाचन व्यवस्थापनका लागि १० अर्ब ३९ करोड रुपैयाँ बराबर स्रोत सहमति प्रदान गरिएको अर्थ मन्त्रालयले जनाएको छ।
यस स्रोत सहमति र निकासासँगै निर्वाचन तयारीका लागि आवश्यक वित्तीय व्यवस्थापन पूर्णरूपमा सुनिश्चित गरिएको छ।

