काठमाडौं, १८ माघ । नेपाली बजारमा लगातार कीर्तिमानी उचाइतर्फ उकालो लागेको सुनको मूल्यमा आइतबार एकैदिन ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो कारोबार दिन सुनको भाउ प्रतितोला १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँमा झरेको हो ।
यसअघि शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो, जुन हालसम्मकै उच्च मूल्यको नजिक रहेको थियो । बिहीबार भने सुनको मूल्य एकैदिन २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।
लगातार बढ्दो मूल्यपछि आएको यो गिरावटले सुन बजारमा केही राहत महसुस गराएको व्यवसायीहरू बताउँछन् ।
सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट देखिएको छ । चाँदीको भाउ प्रतितोला १ हजार ५ सय ६५ रुपैयाँले घटेर ५ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन शुक्रबार चाँदीको मूल्य ७ हजार ६५ रुपैयाँ प्रतितोला रहेको थियो ।
व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढावको प्रत्यक्ष असर नेपाली बजारमा देखिने गरेको छ, जसका कारण सुन–चाँदीको भाउमा तीव्र परिवर्तन हुने गरेका छन् ।

