काठमाडौँ,१९ माघ । भारतमा सर्पदंशले गम्भीर स्वास्थ्य संकटको रूप लिएको छ। सरकारी तथ्यांकअनुसार हरेक वर्ष झन्डै ५० हजार भारतीय नागरिकको सर्पदंशबाट ज्यान जाने गरेको छ।
बीबीसीका अनुसार, यो विश्वभर हुने सर्पदंश मृत्युमध्ये लगभग आधा भारतमै हुने गरेको छ। सन् २००० देखि २०१९ सम्म भारतमा अनुमानित १२ लाख मानिसको सर्पदंशले ज्यान गएको अध्ययनले देखाएको छ।
विशेष गरी ग्रामीण र गरिब समुदाय, किसान, आदिवासी तथा दुर्गम क्षेत्रका बासिन्दाहरू सबैभन्दा बढी जोखिममा छन्। अस्पतालसम्म ढिलाइ, खराब सडक, एम्बुलेन्सको अभाव र झारफुक/धामीझाँक्रीमा विश्वास गर्ने प्रवृत्तिले मृत्युदर अझ बढाएको छ।
ग्लोबल स्नेकबाइट टास्कफोर्सको नयाँ प्रतिवेदनअनुसार, भारतसहित ब्राजिल, इन्डोनेसिया र नाइजेरियामा ९९ प्रतिशत स्वास्थ्यकर्मीले एन्टिभेनम (विषनाशक औषधि) प्रयोगमा कठिनाइ भोगिरहेको बताएका छन्। अपर्याप्त तालिम, कमजोर पूर्वाधार र साइड इफेक्टको डरले उपचारमा समस्या देखिएको छ।
अहिले भारतमा उपलब्ध एन्टिभेनम केवल ‘बिग फोर’ सर्प—कोब्रा, क्रेट, रस्सेल्स भाइपर र स–स्केल्ड भाइपर—विरुद्ध मात्र प्रभावकारी छ। अन्य क्षेत्रका विषालु सर्पका लागि क्षेत्रअनुसारको एन्टिभेनमको अभावले धेरै बिरामीलाई पर्याप्त उपचार नपुग्ने अवस्था सिर्जना गरेको छ।
विशेषज्ञहरूले चेतावनी दिएका छन् कि सर्पदंश रोकथामका लागि स्वास्थ्य पूर्वाधार सुधार, स्थानीय जनचेतना र पर्याप्त विषनाशक औषधिको उपलब्धता अत्यन्त आवश्यक छ।

