जनकपुर,१९ माघ । आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मधेस प्रदेशमा सुरक्षा व्यवस्था थप सुदृढ पारिएको छ। विगतको तुलनामा यसपटकको निर्वाचन फरक र चुनौतीपूर्ण हुने आँकलनसहित प्रहरीले एकीकृत सुरक्षा योजना–२०८२ लागू गर्दै संवेदनशील क्षेत्रहरूमा विशेष तयारी थालेको हो।
मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाका अनुसार प्रदेशका आठ जिल्लामध्ये सर्लाही, रौतहट र सिरहालाई सुरक्षाको दृष्टिले ‘अति संवेदनशील’ अर्थात् रेड जोनमा वर्गीकरण गरिएको छ। ती जिल्लामा तीव्र राजनीतिक प्रतिस्पर्धा, सम्भावित धार्मिक विवाद र खुला सीमाबाट हुन सक्ने घुसपैठ प्रमुख चुनौतीका रूपमा रहेको उनले बताए।
यी जोखिमलाई ध्यानमा राख्दै सादा पोसाकका प्रहरी, अतिरिक्त सुरक्षाकर्मी तथा प्रविधि–आधारित निगरानी प्रणाली परिचालन गरिएको छ। मधेसका ३२ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको संख्या र प्रकृतिका कारण सुरक्षा संवेदनशीलता बढेको प्रहरीको निष्कर्ष छ।
कुल १ हजार २८ उम्मेदवारमध्ये ५५५ जना स्वतन्त्र उम्मेदवार रहेकाले चुनावी प्रतिस्पर्धा थप जटिल बनेको डीआईजी थपलियाले बताए। उनले केही स्वतन्त्र उम्मेदवार विशिष्ट प्रतिस्पर्धीलाई लक्षित गरी मैदानमा उत्रिएकाले तिनको गतिविधिमाथि विशेष निगरानी राखिएको जानकारी दिए।
हाल देखापरेका धार्मिक एजेन्डा र त्यसबाट सिर्जना हुन सक्ने साम्प्रदायिक तनावलाई मध्यनजर गर्दै प्रत्येक निर्वाचन क्षेत्रका लागि अलग–अलग सुरक्षा योजना लागू गरिएको छ। खुला सीमाका कारण हुन सक्ने साना हतियारको अवैध ओसारपसार र आपराधिक समूहको आवतजावत रोक्न भारतीय सुरक्षा निकायसँगको समन्वय पनि थप बलियो बनाइएको छ।
सीमावर्ती क्षेत्रमा कडा चेकजाँच र गस्ती बढाइएको तथा भारतीय समकक्षीहरूसँग नियमित संवाद भइरहेको प्रहरीले जनाएको छ। साथै, विगतका आन्दोलनका क्रममा लुटिएका अधिकांश हतियार बरामद भइसकेका छन् भने फरार १ हजार १४५ कैदीबन्दीमध्ये धेरैलाई नियन्त्रणमा लिइसकिएको छ।
अब बाँकी करिब ३०० फरार व्यक्तिको खोजी तीव्र पारिएको र निर्वाचनलाई भयरहित, निष्पक्ष तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त सुरक्षा फौज पूर्ण तयारी अवस्थामा रहेको डीआईजी थपलियाले बताए।



