वीरगञ्ज, ५ जेठ – वीरगञ्ज, १ जेठ — बहुविवाहको आरोपमा वीरगञ्जका एक शिक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज तथा नृसिंह उच्च माध्यमिक विद्यालयका कम्प्युटर शिक्षक संतोष साह रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार लक्ष्मणवा निवासी साहलाई पहिलो विवाह हुँदाहुँदै पुनः अर्को विवाह गरी बसोबास गरिरहेको उजुरीका आधारमा पक्राउ गरिएको हो। उनीसँगै लक्षुमनामा डेरा गरी बस्दै आएकी एक युवतीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। ती युवती पर्साको पोखरिया नगरपालिका–बसन्तपुर निवासी रिमा साह रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार साह बाराको फेटा गाउँपालिकाका स्थायी बासिन्दा भए पनि हाल वीरगञ्ज–८, पानीट्यांकी क्षेत्रमा बस्दै आएका थिए। उनले रौतहटकी एक युवतीसँग करिब ५० लाख रुपैयाँ दाइजो लिई विवाह गरेका थिए। त्यसपछि उनले पहिलो श्रीमतीलाई झुक्याउँदै अर्को महिलासँग विवाह गरी बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पीडित पहिलो श्रीमतीका अनुसार दोस्रो श्रीमतीसँग साहको एक छोरा रहेको छ भने हाल पक्राउ परेकी युवती गर्भवती समेत रहेको बताइएको छ। प्राप्त जानकारीअनुसार साहले वि.सं. २०७५ साल वैशाख २८ गते रौतहट निवासी युवतीसँग धार्मिक परम्पराअनुसार मागी विवाह गरेका थिए। केही समय सम्बन्ध सामान्य रहे पनि पछिल्ला चार वर्षदेखि उनले श्रीमतीलाई घरमै छोडेर अर्कै महिलासँग बस्दै आएको आरोप छ।
श्रीमतीको उजुरीपछि साह केही समय प्रहरी सम्पर्कबाट बाहिर रहेका थिए। अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजी तीव्र बनाउँदै अन्ततः उनलाई पक्राउ गर्न सफल भएको हो। हाल उनलाई अदालतबाट पहिलो पटक ५ दिन र दोस्रो पटक ३ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
पीडित श्रीमतीले आफूलाई विवाहपछि घरमा राखिएको र सासु–ससुराले साथ दिएको भए पनि ससुराको निधनपछि श्रीमान्ले बेवास्ता गर्दै दोस्रो विवाह गरेको बताएकी छन्। उनले न्यायको माग गर्दै प्रहरीमा उजुरी दिएकी थिइन्।
नेपालको प्रचलित कानुनअनुसार पहिलो श्रीमती जीवित रहँदा वैधानिक रूपमा सम्बन्ध विच्छेद नगरी दोस्रो विवाह गर्न पाइँदैन। सम्बन्ध विच्छेद (छुटपत्र) बिना गरिएको विवाह गैरकानुनी मानिन्छ र यससम्बन्धी कसुरमा कानुनी कारबाहीको व्यवस्था छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। नृह सिंह उच्च मावि प्रशासनले आफुहरुलाई घटनाको बिषयमा जानकारी नभएपनि उनी केही दिनदेखि स्कुलमा अनुपस्थित रहेको जनाएको छ ।



