तरकारी व्यापारमा दलालहरूको दबदबा, वीरगंजमा किसान आक्रोशित

spot_img

वीरगंज, २९ मंसिर – वीरगंजमा तरकारी व्यापारमा ठूलो सिन्डिकेट रहेको खुलासा भएको छ। वीरगंज महानगरपालिकाले घण्टाघरस्थित बीपी पार्कमा लामो समयदेखि लाग्दै आएको थोक तथा खुद्रा तरकारी बजार हटाएपछि तरकारी व्यवसायीहरूको हैकमवादी शैली सतहमा आएको हो।

महानगरले तोकेको वैकल्पिक स्थानमा जान नमान्दै व्यवसायीहरूले आन्दोलन थालेका छन्। यसले तरकारी किसानलाई समेत ठूलो मर्का परेको छ। आज बिहानदेखि वीरगंजका चारै दिशामा बिचौलिया खटाई साना तरकारी व्यवसायी तथा किसानलाई तरकारीसहित शहर प्रवेश गर्न नदिएको किसानहरूको गुनासो छ।

तरकारी लिएर बजार आउँदै गरेका किसानलाई बाटोमै रोकेर गालीगलौज तथा हातपात गरिएको आरोप भारतको हरपुर क्षेत्रबाट आएका किसानहरूले लगाएका छन्। उनीहरूका अनुसार घण्टाघरमा तरकारी बेच्न इच्छुक नभए पनि बिचौलिया, दलाल र रंगदारी चलाउने समूहले त्यहीँ बेच्न बाध्य बनाउँदै आएको छ। सो मण्डीमा उचित मूल्य नपाउने गरेको उनीहरूको भनाइ छ।

किसानहरूले घण्टाघर मण्डीमा आफ्नो इज्जत र मान–प्रतिष्ठा नहुने तथा दलालले तोकेको मूल्यमा तरकारी नदिए मण्डीबाट बहिष्कार गर्ने गरिएको समेत खुलासा गरेका छन्। ठूला तरकारी व्यवसायी र दलालका कारण आज दिनभर बाहिरबाट आएको तरकारी वीरगंज प्रवेश गर्न नपाएको किसानहरूले बताएका छन्।

साइकल, मोटरसाइकल तथा चारपांग्रे सवारी प्रयोग गरी साना तरकारी तथा फलफूल व्यवसायी र किसानलाई रोकिने क्रम जारी रहेको किसानहरूको गुनासो छ। यसका कारण हजारौं किसान तरकारी बजार नपुग्दै घर फर्किन बाध्य भएका छन्। अवस्था यस्तै रहेमा लाखौं मूल्य बराबरको तरकारी नष्ट हुने खतरा रहेको इनर्वाका एक किसानले बताए।

उनका अनुसार घण्टाघर तरकारी मण्डीको सिन्डिकेट तोडिएमा रेल्वे रोडमा सञ्चालन हुने भनिएको थोक तथा खुद्रा तरकारी बजारमा उपभोक्ताले सस्तो मूल्यमा तरकारी पाउने निश्चित छ।

वीरगंज फलफूल तथा तरकारी व्यवसायीहरूको नेतृत्व गर्दै आएका ‘जगु’ नामका एक व्यवसायीले मण्डीमा ठूलो आर्थिक चलखेल गर्ने गरेको आरोप छ। तर, व्यवसायी जगुले किसानहरूले लगाएका आरोप झुटा भएको दाबी गर्दै मण्डीमा नेपाली किसानलाई प्राथमिकता दिइँदै आएको बताए। रेल्वे रोडको मण्डी टाढा र उल्टो पर्ने भएकाले घण्टाघरस्थित बीपी पार्कमै सीमित जग्गा उपलब्ध गराउन महानगरसँग माग गरिएको उनले बताए।

उनले आफूहरूले कुनै किसानलाई धम्की नदिएको, सामान नखोसेको र उचित मूल्यमा लामो समयदेखि तरकारी बिक्री–वितरणको व्यवस्था गर्दै आएको दाबी गरे। रेल्वे रोडको तरकारी मण्डी महँगो रकममा ठेक्कामा गएको र सटर भाडा गरिब किसानले तिर्न नसक्ने अवस्थाको रहेको उनको भनाइ छ।

यता वीरगंज महानगरपालिकाले तोकिएको स्थानमै पूर्वाधारसहितको तरकारी बजार निर्माण हुने स्पष्ट पारेको छ। बीपी पार्कको जग्गामा तरकारी मण्डी सञ्चालन गर्न नसकिने भन्दै पटक–पटक म्याद दिँदा पनि अटेरी गरेपछि बाध्य भएर डोजर चलाउनुपरेको महानगरको भनाइ छ।

वीरगंजका चारै दिशामा तरकारी मण्डी रहेको र किसान तथा उपभोक्ता रेल्वे रोडको मण्डी आउन तयार रहे पनि व्यवसायीहरू त्यहाँ जान नमान्नु पछाडि अनुचित व्यापारको स्वार्थ हुन सक्ने कतिपयको बुझाइ छ।

spot_img

ताजा अपडेट

लोकप्रिय