अस्ट्रेलियामा नयाँ कानुन लागू भएपछि स्न्यापच्याटद्वारा ४ लाखभन्दा बढी नाबालिग खाताहरू बन्द

spot_img

काठमाडौँ,१९ माघ । अस्ट्रेलियामा १६ वर्षमुनिका प्रयोगकर्तालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानुन कार्यान्वयनमा आएपछि स्न्यापच्याटले चार लाख १५ हजारभन्दा बढी खाता बन्द गरेको जनाएको छ।

कम्पनीले सोमबार सार्वजनिक गरेको विवरणअनुसार जनवरी अन्त्यसम्म सो संख्यामा खाता बन्द गरिएको हो र यो प्रक्रिया निरन्तर जारी रहेको बताएको छ। “हामी दैनिक रूपमा थप खाता बन्द गर्दैछौं,” स्न्यापच्याटले जनाएको छ।

उक्त कदम सन् २०२५ डिसेम्बर १० देखि लागू भएको अस्ट्रेलियाली कानुनअनुसार गरिएको हो। नयाँ कानुनअनुसार स्न्यापच्याट, मेटा, टिकटक र युट्युबसहितका सामाजिक सञ्जाल प्लेटफर्महरूले नाबालिग प्रयोगकर्ताको खाता बन्द गर्नुपर्ने व्यवस्था छ। कानुन उल्लङ्घन गरेमा कम्पनीहरूले करिब ४९ करोड ५० लाख अस्ट्रेलियन डलरसम्म जरिवाना तिर्नुपर्नेछ।

यद्यपि स्न्यापच्याटले हाल प्रयोगमा रहेको उमेर प्रमाणीकरण प्रणालीमा कमजोरी रहेको उल्लेख गर्दै केही किशोर(किशोरी)हरूले प्रणाली छल्न सक्ने चेतावनी दिएको छ। कम्पनीका अनुसार उमेर अनुमान प्रणालीले दुईदेखि तीन वर्षको दायराभित्र मात्रै सही नतिजा दिन सक्ने भएकाले १६ वर्षमुनिका प्रयोगकर्ता पहुँचमा रहन सक्ने र केही १६ वर्षभन्दा माथिका प्रयोगकर्ताले अनावश्यक रूपमा सेवा गुमाउन सक्ने अवस्था देखिएको छ।

यस समस्याको समाधानका लागि स्न्यापच्याटले मेटासँग मिलेर अस्ट्रेलियालाई एप्लिकेसन पसलमै उमेर जाँच अनिवार्य गर्न सुझाव दिएको छ। कम्पनीका अनुसार यस्तो प्रमाणीकरण प्रणाली लागू भएमा सुरक्षामा थप मजबुती आउन सक्छ।

स्न्यापच्याटले सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध लगाउनु उपयुक्त उपाय नभएको समेत बताएको छ। कम्पनीका अनुसार उसको प्लेटफर्म मुख्यतः युवा प्रयोगकर्तालाई नजिकका साथी र परिवारसँग जोडिराख्न प्रयोग हुने भएकाले ती सम्बन्ध अचानक विच्छेद गर्दा उनीहरूको सुरक्षा र मानसिक सन्तुलनमा नकारात्मक असर पर्न सक्नेछ।

यसअघि अस्ट्रेलियाको अनलाइन सुरक्षा नियामकले प्रविधि कम्पनीहरूले करिब चार लाख ७० हजार नाबालिग खाता ब्लक गरिसकेको जानकारी दिएको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय