नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई इरानमा साढे सात वर्षको जेल सजाय

spot_img

काठमाडौं,२६ माघ । नोबेल शान्ति पुरस्कार विजेता तथा मानवअधिकार अभियन्ता नरगिस मोहम्मदीलाई इरानको एक अदालतले साढे सात वर्षको जेल सजाय सुनाएको छ। उनका कानुनी प्रतिनिधि मोस्तफा निलीले सामाजिक सञ्जालमार्फत् अदालतको फैसलाबारे जानकारी दिएका हुन्।

निलीका अनुसार मोहम्मदीलाई मिलेमतोमा षड्यन्त्र रचेको अभियोगमा छ वर्ष र राज्यविरुद्ध प्रचार गतिविधि गरेको अभियोगमा डेढ वर्ष गरी जम्मा साढे सात वर्षको जेल सजाय सुनाइएको हो।

मोहम्मदी विगत केही वर्षदेखि विभिन्न मुद्दामा जेल सजाय भोग्दै आएकी छन्। स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै डिसेम्बर २०२४ मा उनलाई तीन साताका लागि अस्थायी रूपमा जेलमुक्त गरिएको थियो। यद्यपि, अन्तर्राष्ट्रिय मानवअधिकार अभियन्ता तथा पश्चिमा मुलुकहरूको दबाबपछि उनको अस्थायी रिहाइको अवधि लम्ब्याइएको गार्डियनले उल्लेख गरेको छ।

५३ वर्षीया मोहम्मदीलाई पछिल्लो पटक डिसेम्बर २०२५ मा एक शोक सभामा ‘उत्तेजक अभिव्यक्ति’ दिएको आरोपमा पक्राउ गरिएको थियो। यही घटनासँग जोडिएको मुद्दामा इरानको उत्तर–पूर्वी सहर मशहदस्थित अदालतले उनलाई नयाँ सजाय सुनाएको हो।

इरानमा महिलामाथि हुने दमन र मानवअधिकार उल्लङ्घनविरुद्ध निरन्तर आवाज उठाउँदै आएकी मोहम्मदीलाई सन् २०२३ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। उनी सन् २०२१ देखि तेहरानस्थित कुख्यात एविन कारागारमा थुनामा रहँदै आएकी छन्।

मोहम्मदीले यसअघि पनि कैयौं मुद्दा र सजायको सामना गर्दै आएकी छन् भने पछिल्लो फैसलापछि उनको रिहाइ झन् अन्योलमा परेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय