जेनजी आन्दोलन आयोगको प्रतिवेदन सार्वजनिक गर्न प्रभु साहको माग

spot_img

काठमाडौं,२८ माघ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगको म्याद पटक–पटक थपिएको विषयमा प्रश्न उठाएका छन्। उनले आयोगको म्याद थप्नुको स्पष्ट कारण सरकारले सार्वजनिक गर्नुपर्ने बताएका छन्।

बुधबार वीरगंजको छपकैयामा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै साहले आयोगले अहिलेसम्म प्रतिवेदन सार्वजनिक नगरेकोप्रति असन्तुष्टि व्यक्त गरे। उनले आयोगको काम समयमै सम्पन्न नभएको भन्दै छानबिनको नतिजा छिटो सार्वजनिक गर्न आग्रह गरे। साथै, उनले सरकारको कार्यकाल अन्त्यतिर पुगिसक्दा पनि आयोगको म्याद लम्बिँदै जानुको औचित्य स्पष्ट हुनुपर्ने बताए।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भएको थियो। पहिलो दिन १९ जनाको मृत्यु भएको थियो भने दोस्रो दिनसम्म आइपुग्दा मृतक संख्या ७६ पुगेको थियो। आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगजनीसमेत भएको थियो।

उक्त घटनापछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। सुरुमा आयोगलाई तीन महिनाको समय दिइएको भए पनि काम नसकिएपछि पटक–पटक म्याद थपिँदै आएको छ। पछिल्लो पटक सरकारले माघ २६ गते आयोगको म्याद थप २५ दिन बढाएको छ, जसअनुसार आयोगले आगामी फागुन २४ भित्र सरकारलाई प्रतिवेदन बुझाउनुपर्नेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय