काठमाडौँ,३० फागुन । काठमाडौँमा आज केही स्थानमा निर्धारित समयका लागि विद्युत् कटौती हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै गोठाटार र बत्तीसपुतली फिडर अन्तर्गतका क्षेत्रमा लाइन मर्मतका कारण विद्युत् सेवा अस्थायी रूपमा अवरुद्ध हुने जनाएको हो।
प्राधिकरणको बानेश्वर वितरण केन्द्रबाट वितरण हुने ११ केभी लाइनको मर्मत, पुराना पोलको सुधार तथा नयाँ पोल जडान गर्ने कार्यका लागि यो कटौती गर्न लागिएको बताइएको छ।
सूचनाअनुसार बिहान ११ बजेदेखि दिउँसो १:३० बजेसम्म पेप्सीकोला र टाउन प्लानिङ क्षेत्र आसपास विद्युत् कटौती हुनेछ। त्यसैगरी अपराह्न २ बजेदेखि ४ बजेसम्म मध्य बानेश्वर, पुरानो बानेश्वर र बत्तीसपुतली क्षेत्रमा पनि विद्युत् सेवा अवरुद्ध रहनेछ।
प्राधिकरणका अनुसार तोकिएको समयभन्दा अगाडि नै मर्मत कार्य सम्पन्न भएमा विद्युत् सेवा पुनः नियमित गरिनेछ। विद्युत् कटौतीका कारण उपभोक्तामा पर्न सक्ने असुविधाप्रति प्राधिकरणले क्षमायाचना समेत गरेको छ।




