काठमाडौं,३० फागुन । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विद्युतीय कारोबार ऐनअन्तर्गतको मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–४ सुकेधारामा बस्दै आएका ४३ वर्षीय रविरत्न चुडाल रहेका छन्। उनलाई सुकेधाराबाट नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिएका छन्।
प्रहरीका अनुसार साङ्केतिक नाम ‘०८२ धरान–३८’ को जाहेरीका आधारमा नेपाल सरकार वादी र रविरत्न चुडाल प्रतिवादी रहेको विद्युतीय कारोबार ऐनसम्बन्धी कसुर मुद्दामा उनी फरार रहेका थिए।
पक्राउ परेका चुडाललाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरान, सुनसरी पठाइएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा चुडालविरुद्ध यसअघि २०६७ साल जेठ १९ गते लागुऔषध नियन्त्रण ब्यूरोमा लागुऔषध (चरेस) सम्बन्धी कसुरमा पनि मुद्दा दर्ता भएको खुलेको प्रहरीले जनाएको छ।




