बीरगन्ज,३० फागुन । बीरगन्जमा चैते दशैंको अवसर पारेर ऐतिहासिक गहवा माईको डोली यात्रा आयोजना गरिने भएको छ। माईस्थान सञ्चालक समितिका अनुसार २०८२ साल चैत १२ गते (मार्च २६, २०२६) बिहीबार गहवा माईको निशानसहित भव्य डोली यात्रा निकालिने तयारी गरिएको छ।
डोली यात्रा गहवामाई मन्दिरबाट सुरु भई विभिन्न धार्मिक स्थलहरूको परिक्रमा गर्दै पुनः मन्दिर परिसरमै पुगेर समापन गरिनेछ। यात्राको क्रममा बित्ता माई मन्दिर, अलखिया मठ, श्री गणेश मन्दिर, महावीर मन्दिर तथा माईस्थान चिरही लगायतका स्थानमा पूजा–अर्चना गरिने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ।
यात्रामा ठूलो संख्यामा भक्तजनहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। यसलाई व्यवस्थित रूपमा सञ्चालन गर्न गहवामाई डोली यात्रा उपसमिति समेत गठन गरिएको माईस्थान सञ्चालक समितिले जानकारी दिएको छ।
यसै अवसरमा माईस्थान मन्दिर परिसरमा बुधबार बिहान ७ बजेदेखि वृहत् रक्तदान कार्यक्रम पनि आयोजना गरिनेछ। उक्त कार्यक्रम श्री गहवा माईस्थान मन्दिर र रेडक्रसको सहकार्यमा सञ्चालन गरिने बताइएको छ।
डोली यात्रामा निशान उठाउन इच्छुक भक्तजनहरूले समितिको कार्यालयबाट ३५० रुपैयाँ सहयोग रकम बुझाएर माताको झन्डा, पटुका र टोपी प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। कार्यक्रमबारे थप जानकारीका लागि माईस्थान सञ्चालक समितिको कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।




