काठमाडौँ,२९ माघ । मेडिकल व्यवसायी र राष्ट्र, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले देशमा ‘डिप स्टेट’ को आधारमा नयाँ राजनीतिक शक्तिहरू उदाएको गम्भीर आरोप लगाएका छन्। बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले काठमाडौँका मेयर बालेन शाह, रास्वपा सभापति रवि लामिछाने र कांग्रेस महामन्त्री गगन थापालाई पश्चिमा शक्तिको एजेन्ट बताउँदै देशलाई युक्रेनजस्तै बनाउने प्रयास भइरहेको दाबी गरे।
प्रसाईंले सामाजिक सञ्जालमार्फत विदेशी फन्डिङमा परिचालित बालेन र रविलाई नेपालमा जनमत भ्रमित गर्न प्रयोग गरिएको आरोप लगाए। उनले सन् २०१३–१४ देखि नै पश्चिमी शक्तिहरूले नेपालमा ‘फ्री तिब्बत’ को एजेन्डा स्थापना गर्न लगानी गर्दै आएको र हालका राजनीतिक दल तथा पात्रहरूलाई हिमाली क्षेत्रमा नयाँ दलाई लामा जन्माउने र चीनविरुद्ध प्रयोग गर्ने रणनीति बनाइएको दाबी गरे।
उनले जेन्जी मुभमेन्ट र सिंहदरबार तथा सर्वोच्चमा आगो लगाउने घटनाहरू यही योजनाको भाग भएको भन्दै सडकमा आगो लगाउने कार्यमा सहभागी सबैलाई जिम्मेवार ठहर गर्नुपर्ने बताए। प्रसाईंले युक्रेनमा जसरी जेलेन्स्कीलाई ‘हिरो’ बनाइयो, नेपालमा पनि त्यसै मोडलमा बालेन–रवि–गगनलाई अघि सारिएको बताए।
फागुन १ गते राजा ज्ञानेन्द्रलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाने आह्वान गर्दै प्रसाईंले प्रशासन र प्रहरीलाई चुनौती दिंदै चेतावनी दिएका छन्। उनले देशको अस्तित्व जोगाउन राजसंस्था र राष्ट्रवादी शक्तिहरू एकजुट हुनुपर्ने जोड दिए।
त्यसैगरी, प्रसाईंले पुराना दलका नेताहरू ओली, प्रचण्ड र देउवालाई वैदिक सनातन हिन्दु राष्ट्र र राजसंस्था स्वीकारेर आउन आग्रह गरे। उनले हालको व्यवस्था र सरकारले गराउने चुनावलाई विदेशी हस्तक्षेपमा आधारित सत्ता कब्जाको प्रपञ्च भन्दै आलोचना गरे र जनतालाई आन्दोलनमा साथ दिन आह्वान गरे।



