पर्सा,२९ माघ – पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर–२ का खेखरिया, झिँगण, छतुवन टाँडी तथा कटानी टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुको घरदैलो कार्यक्रम सम्पन्न भएको छ। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त कार्यक्रममा बुद्धिजीवी, ज्येष्ठ नागरिक, युवा, महिला तथा कृषकहरूको उल्लेखनीय सहभागिता र उत्साहजनक समर्थन देखिएको थियो।
घरदैलोका क्रममा स्थानीयवासीहरूले पर्सा–२ मा परिवर्तनको आशा जागेको प्रतिक्रिया दिएका छन्। बुद्धिजीवी, ज्येष्ठ नागरिक, युवा, महिला तथा कृषकहरूले यसपटकको मतदानले समाजमा सकारात्मक रूपान्तरण ल्याउने विश्वास व्यक्त गर्दै उम्मेदवार कानुलाई समर्थन जनाएका थिए।
उम्मेदवार सुशील कुमार कानुले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रका प्राथमिक समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले पर्सागढी क्षेत्रमा अस्पताल तथा स्वास्थ्य सेवा व्यवस्थापन सुधार, खेलकुद पूर्वाधार विकास तथा कृषकलाई समयमै मल र सिँचाइका लागि पानी उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राख्ने बताए।
त्यसैगरी बेरोजगार युवालाई स्थानीय स्तरमै पशुपालनसम्बन्धी प्राविधिक सीप तालिम प्रदान गरी रोजगारी सिर्जना गर्ने योजना अघि सार्दै कानुले निर्वाचित भएपछि यी आधारभूत समस्याहरू चरणबद्ध रूपमा समाधान गरिने प्रतिबद्धता जनाए।
पर्सागढी नगरपालिका वडा नम्बर–२ मा सम्पन्न घरदैलो कार्यक्रममा रास्वपाका नेता शर्फु आलमका अनुसार फिरोज मियाँ, समीर अन्सारी, धीरेन्द्र राउत, विनय कुमार ओझा, श्यामसुन्दर शाह, गंगा आचार्य, कविराज अर्याल, चन्द्रशेखर चौधरी लगायतको सहभागिता रहेको थियो।



