काठमाडाै,०१ फागुन । कालिन्चोक हाइड्रोपावर लिमिटेडले फागुन १३ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै सेयर बिक्री खुला गर्न लागेको हो।
कम्पनीले ५५ करोड रुपैयाँ जारी पुँजीको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरका १३ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको छ। जसमध्ये ५ करोड ५० लाख रुपैयाँ बराबरका ५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको छ।
यो सेयर दोलखा जिल्लाको बिगु गाउँपालिका–८ तथा कालिन्चोक गाउँपालिका–१ र २ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्। स्थानीयका लागि बिक्री छिटोमा फागुन २७ गते र ढिलोमा चैत १३ गते बन्द हुनेछ।
त्यसैगरी, सर्वसाधारण समूहअन्तर्गत छुट्याइएको १० प्रतिशत अर्थात ८२ लाख ५० हजार रुपैयाँ बराबरका सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि खुला गरिनेछ। यसका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक नेपालीका लागि आवेदन छिटोमा फागुन १७ र ढिलोमा फागुन २७ गतेसम्म खुला रहनेछ।
आईपीओ निष्काशनका लागि गरिएको मूल्यांकनमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।
कम्पनीले सञ्चालन गरेको ५ मेगावाटको साँगु (सोरुन) खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब २० करोड रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २४ करोड १४ लाख रुपैयाँ छ। आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र अझै २९ वर्ष ५ महिना बाँकी छ। साधारण लगानी फिर्ता अवधि ९.१९ वर्ष र डिस्काउन्टेड अवधि १५.३६ वर्ष रहेको कम्पनीले जनाएको छ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त गरिएको छ। स्थानीयले बिक्री प्रबन्धकसहित सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत ‘सि–आस्बा’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो सेयर’ सफ्टवेयरमार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था गरिएको छ।



