काठमाडौँ,०१ फागुन । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आम जनता पार्टीले ‘घोषणापत्र २०८२’ सार्वजनिक गरेको छ। पार्टीले मुलुकको राजनीतिक अस्थिरता, आर्थिक संकट र दलतन्त्रको असफलतालाई प्रमुख आधार मान्दै “देशको अवस्था बदल्न, व्यवस्था बदलौं” भन्ने मूल नारासहित व्यापक सुधार र विकासका एजेन्डा अघि सारेको छ।
घोषणापत्रअनुसार देश अहिले अस्थिर राजनीतिक संक्रमण, दुई–तिहाइको सरकार बर्खास्त, संसद विघटन र ‘जेनजी आन्दोलन’पछि असमय निर्वाचन गर्नुपर्ने अवस्थामा रहेको दाबी गरिएको छ। पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने प्रस्तावसमेत अघि सारेको छ।
आर्थिक एजेन्डामा आजपाले कर प्रणाली सुधार, विदेशी नागरिकता दिने प्रावधान खारेज, ‘नो भोट’, ‘राइट टु रिकल’, ७० वर्ष नाघेका व्यक्तिलाई कार्यकारी पदमा रोकलगायत नीति प्रस्ताव गरेको छ। देशको सार्वजनिक ऋण करिब २८ खर्ब, बेरुजु १३ खर्ब र प्रतिव्यक्ति ऋणभार ९६ हजार रुपैयाँ पुगेको उल्लेख गर्दै वित्तीय अराजकता रोक्न ‘आईटी आर्मी’ परिचालन गर्ने योजना सार्वजनिक गरिएको छ।
कृषि क्षेत्रमा बाँझो तथा टुक्रा जमिन एकीकृत गरी ‘भूमि बैंक’ स्थापना, हरेक वडामा शीतभण्डार र स्वदेशी उत्पादन सस्तो बनाउने नीति ल्याउने योजना समावेश छ। ‘ग्रीन इकोनोमी’ अन्तर्गत चुरे संरक्षण, वैज्ञानिक तटबन्ध र जडीबुटी उद्योग स्थापना गर्ने लक्ष्य राखिएको छ।
युवालाई रोजगारी दिने मुख्य लक्ष्यसहित ‘एक घर, एक रोजगारी’, बेरोजगारी भत्ता, ‘ग्लोबल आईटी हब’ निर्माण र युवा उद्यमीका लागि १०–२५ लाख रुपैयाँसम्मको ‘सीड मनी’ उपलब्ध गराउने प्रस्ताव घोषणापत्रमा छ।
शिक्षा, स्वास्थ्य र महिला सशक्तीकरणतर्फ डिजिटल क्लासरुम, डिजिटल हेल्थ कार्ड, विशेषज्ञ अस्पताल स्थापना र मौलापुर मोडेलमा अभियान सञ्चालन गर्ने नीति प्रस्तुत गरिएको छ।
सडक, सहर र ऊर्जा क्षेत्रमा सार्वजनिक पार्किङ व्यवस्थापन, डिजिटल करिडोर, डिजिटल ट्विन, भर्टिकल हाउजिङ, ऊर्जाको उत्पादन र निर्यात वृद्धि तथा वाटर ट्रेडिङलाई प्राथमिकता दिइने घोषणापत्रमा उल्लेख छ।
पार्टीले मतदातासमक्ष “युवालाई काम, बुढा नेतालाई आराम”, “खल्तीमा मोबाइल, मोबाइलमै रासन भ्रष्टाचारमुक्त हुने छ अबको शासन”, र “सिस्टम सुधार, स्थिर सरकार आजपा नै हो समृद्धिको आधार” जस्ता नारासहित प्रचार गर्ने योजना सार्वजनिक गरेको छ।




