काठमाडौँ,०१ फागुन । महाशिवरात्रि पर्वलाई लक्षित गर्दै पशुपति क्षेत्र विकास कोषले सबै तयारी पूरा भएको जनाएको छ। पर्व नजिकिँदै जाँदा पशुपतिनाथ मन्दिर क्षेत्रमा भक्तजन, साधुसन्त तथा दर्शनार्थीको उपस्थिति उल्लेख्य रूपमा बढ्न थालेको छ।
कोषका अनुसार नेपालसहित भारत, भुटान, बंगलादेश र म्यान्मार लगायत विभिन्न देशबाट श्रद्धालुहरू आउने क्रम जारी छ। महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रलाई फूल, बत्ती र साजसज्जाले आकर्षक बनाइँदै छ।
दर्शन तथा पूजाआजालाई व्यवस्थित बनाउन आइतबार बिहान २ बजेदेखि नै मन्दिरका चारै ढोका खुला गरिने निर्णय भएको छ। भक्तजनलाई लामो समयसम्म लाइनमा बस्न नपरोस् भन्ने उद्देश्यले व्यवस्थापनमा विशेष ध्यान दिइएको कोषले जनाएको छ।
श्रद्धालुको ठूलो भीडलाई ध्यानमा राख्दै सुरक्षा तथा स्वास्थ्यका मापदण्ड पालना गर्न पनि आग्रह गरिएको छ। महाशिवरात्रिको अवसरमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग लगायतका सुरक्षा निकाय परिचालन गरिनेछन्। साथै कोषको आफ्नै सुरक्षा टोली पनि खटाइएको छ।
कोषले श्रद्धालुलाई संयमित र सुरक्षित रूपमा दर्शन गर्न अनुरोध गरेको छ।



